नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने प्रस्ट पारेका हुन् ।
'अहिले नै हामी अरू कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । पार्टी एकता हुनेछैन । यो पनि प्रस्ट पार्न चाहन्छु म,' उनले भने । एमाले अध्यक्ष ओलीको नाम नलिर्इ उनले आफूहरू अर्को पार्टीमा समाहित भएर विलीन हुन लागेको गलत प्रचार गरिएको बताए।
हरेक गाउँ, टोल, बस्ती र जिल्ला जिल्लामा समानान्तर रुपमा आफ्ना सबै कमिटीहरू विद्यमान रहेको उनले बताए । नेपालले भने, 'कसैकसैले के भन्ने गर्याछन् भने अरूको टाङमुनि छिर्न गइरहेका छन् । अरूको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलीन हुन गइरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । हाम्रो संगठनको संरचना विद्यमान छ तलतल । अलरेडी विद्यमान छ गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा, जिल्लाजिल्लामा, जनसंगठनहरूमा। समानान्तर रूपमा सबै कमिटी विद्यमान छन् ।’
उनले पार्टीमा युवाहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको उनले बताए ।