काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा, भारतीय सहयोगको अपेक्षा

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको काबुलमा उद्धारको पर्खाइमा रहेका ४२ जनामध्ये आठजनाले काबुल छाडेका छन्। काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ किलोमिटर दूरीमा रहेका ३४ नेपाली उद्धारको पर्खाइमा छन्।

‘उद्धार उडानको पर्खाइमा रहनुभएका ३४ नेपाली नागरिकहरूलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठउँमा स्थानान्तरण गरिएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ।’

तीन समूहमा रहेका उनीहरूलाई भारतीय कूटनीतिक अधिकारीहरूको समन्वयमा गुरुद्धारामा राखिएको थियो जहाँ भारतीय नागरिक पनि उद्धारको पर्खाइमा थिए। स्रोतका अनुसार परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र काबुलस्थित भारतीय दूतावाससँग नेपालीहरूको उद्धारका लागि समन्वय गरिरहेका छन्।

तालिवान समूहले शुक्रबार नै गुरुद्धारा खाली गर्न दबाब दिएको भन्दै शनिबार अपराह्नसम्म नेपालीहरू त्रासमा थिए। उनीहरूलाई काबुलस्थित भारतीय राजदूतावासका अधिकारीसँगको समन्वयमा त्यहाँबाट सारिएको छ।

‘भारतीय पक्षबाट उहाँहरूको उद्धार गरिदिने प्रतिबद्धता व्यक्त भएको छ। भारतीय नागरिक लिन जाने एयरफोर्सको जहाजले उहाँहरूलाई दिल्लीसम्म पुर्याइदिने प्रतिबद्धता विदेश मन्त्रालयमार्फत आएको छ,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो।  काबुलमा अहिले नागरिक उड्डयनमार्फत उडान बन्द छ। अमेरिका, बेलायत, जर्मनी र भारतीय सेनाको एयरफोर्सले नागरिक उद्धार गर्दै आएका छन्। ‘नेपालीहरूलाई सुरक्षा, खाने र बस्ने व्यवस्थाका लागि समन्वय गरिएको छ। उहाँहरू केही दिनमै काबुल छाड्ने परिस्थिति बनेको छ,’ स्रोतले भन्यो, ‘बाँकी नेपालीहरू संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत हुनुहुन्छ। उहाँहरूलाई भविष्यमा अवश्यक परेमा राष्ट्रसंघले नै उद्धार गर्छ, तर अहिले कार्यालय बन्द हुँदैन।’

See More On

सुझावित समाचार