तीन वर्षअघि नै सक्नुपर्ने ४६ किमि सडक निर्माणका लागि फेरि ६ महिना म्याद थप गर्ने तयारी
६ पटक म्याद थपिँदासमेत राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ सडकखण्ड कालोपत्रेको काम सम्पन्न हुन सकेको छैन । गल्छीदेखि मैलुङसम्म ४६ किलोमिटर सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रेको काम पटकपटक म्याद थप्दा पनि पूरा हुन नसकेको हो ।
२२ कात्तिक ०७३ मा कोभी टुन्डी रसुवा जेभीले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडकको चौडा बनाउने, नाला निर्माण गर्ने, कल्भर्ट निर्माण गर्ने, वाल निर्माण गरी सडक कालोपत्रेका लागि ठेक्का पाएको हो । आयोजना ५ भदौ ०७५ मा पूरा भइसक्नुपर्ने थियो । तर, तोकिएको अवधिमा सम्पन्न हुन नसकेपछि त्यसयता ६ पटक भ्याद थप भइसकेको छ ।
नारायणदत्त भण्डारी, प्रमुख, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना
४६ किलोमिटर सडक २१ महिनामा पूरा हुन सम्भव नै छैन, सडक निर्माण सम्पन्न हुन अझै ४६ महिना चाहिन्छ । म्याद थपले केही असर परेको छैन, यो हाम्रो बाध्यता हो ।
६ भदौैदेखि ५ फागुन ०७५ सम्म पहिलोपटक म्याद थपिएको थियो । पहिलोपटक थपिएको म्याद सकिएपछि पुनः दोस्रोपटक ६ फागुन ०७५ देखि ३० साउन ०७६ सम्म म्याद थपियो । तेस्रोपटक ३१ साउनदेखि २७ मंसिर ०७७ सम्म म्याद थपियो । चौथोपटक २८ मंसिर ०७६ देखि २२ जेठ ०७७ सम्म म्याद थपियो । पाँचौँपटक २२ जेठ ०७७ देखि १२ पुस ०७७ सम्म म्याद थपियो । छैटौँपटक १३ पुस ०७७ देखि १२ असार ०७८ सम्म पुनः म्याद थपिएको थियो ।
तीन महिनादेखि ६ महिनासम्म गरी पटकपटक ६ पटकसम्म म्याद थप भए पनि सडक निर्माण सम्पन्न हुन नसकेकोे गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । दुईपटक कोभिड र चारपटक जग्गालगायतका अन्य कारणले म्याद थपिएको उनले जानकारी दिए । मुआब्जा वितरणमा विवाद, अदालतको स्टे अर्डर, कोरोना र विद्युत्का पोल समयमा नहट्नु, वर्षात्को समयमा काम गर्न नसक्नुलगायतका कारण काममा ढिलाइ भएको भण्डारीले बताए । ‘४६ किलोमिटर सडक २१ महिनामा पूरा हुन सम्भव नै छैन, सडक निर्माण सम्पन्न हुन अझै ४६ महिना चाहिन्छ । म्याद थपले केही असर परेको छैन, यो हाम्रो बाध्यता हो,’ उनले भने ।
४६ किलोमिटर सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उनले दाबी गरे । उनका अनुसार २५ किलोमिटर कालोपत्रेकोे काम सम्पन्न भएको छ । कोभिड महामारीले काम गर्न नसकेका आयोजनाको ६ महिना म्याद थप्ने सरकारको निर्णयअनुरूप ६ महिनाको म्याद थपका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।
पुल निर्माणको हालत पनि उस्तै

गल्छीदेखि मैलुङसम्मको पक्की पुल निर्माणमा समेत ढिलाइ भएको छ । गल्छीदेखि मैलुङ हुँदै त्रिशूली खोलासम्म १६ स्थानमा पक्की पुल निर्माणका लागि कालिका टुन्डी हिमदुङ एन्ड थोकर जेभीसँग २४ कात्तिक ०७३ मा सम्झौता भएको थियो । २३ कात्तिक ०७५ मा पुल निर्माण गरिसक्नुपर्ने थियो । तर, तीनपटक म्याद थपिए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
२४ कात्तिक ०७५ देखि २३ साउन ०७६ साउनसम्म पहिलोपटक, २४ साउन ०७६ देखि ९ असोज ०७७ सम्म दोस्रोपटक र ९ असोज ०७७ देखि ३ असार ०७८ सम्म तेस्रोपटक म्याद थप भएको थियो । हालसम्म पुल निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको भण्डारीले दाबी गरे । ‘३२ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १६ वटाको मात्र ठेक्का लगाई काम सुरु भएको छ । ६ वटा सम्पन्न भएको, ठेक्का लगाइएको १० वटाको ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ,’ उनले भने ।
अब ६ महिना म्याद थपिँदा ठेक्काअनुसार पुलको सबै काम सम्पन्न हुने उनले दाबी गरे । ‘१६ वटा पुल निर्माणका लागि दुई वर्षको समय राखिएको थियो, तर सकिएन । पुलको डिजाइन रिभ्यु गर्नुपर्ने भयो,’ उनले भने, ‘कतिपय ठाउँमा पहिला गरेको डिजाइन काम लागेन । माटो भनेर डिजाइन भएको छ माटो छैन, रक भनेर डिजाइन भएको थियो रक छैन, डिजाइन रिभ्यु गर्न समय लागेकाले ढिलाइ भएको हो, ६ महिना म्याद थपिँदा सबै सकिन्छ ।’ चालू आर्थिक वर्षमा १६ वटा पक्की पुल निर्माणका लागि ठेक्का लगाउने तयारीमा रहेको उनले बताए ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर सडक निर्माणको काम भइरहेको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्म र तेस्रो खण्ड स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
