दक्षिण एसिया जलवायु परिवर्तनको जोखिममा

भुटान कम जोखिममा, पाकिस्तानमा सर्वाधिक जोखिम

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

विकसित देशहरूले पछिल्लो समय सबैभन्दा धेरै चिन्ता जनाउँदै आएको विषय विश्वको परिवर्तित जलवायु हो । यहीकारण जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न सम्मेलनहरू हुँदै आएका पनि छन् । सम्मेलनहरूले जलवायु परिवर्तन न्यूनीकरणका विभिन्न विधि र योजनासम्बन्धी घोषणा जारी गरे पनि कतिपय विकसित देशहरूले यस्ता निर्णय बेवास्ता गर्दै आएका छन् । 

क्लाइमेट चेन्ज घोषणापत्र पेरिसले विकसित देशहरूले जलवायु परिवर्तनमा सुधार र न्यूनीकरणमा जोड दिएको थियो । सोहीअनुसार कतिपय देशहरूले पेरिस सम्झौताअनुसार काम गरिरहेका पनि छन् । तर, घोषणापत्रमा हस्ताक्षर गरेका देशहरूले अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी केही पनि काम नगरेको युनिसेफद्वारा जारी प्रतिवेदनमा उल्लेख छ । 

युनिसेफ प्रत्येक वर्ष जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्छ । यस वर्ष सार्वजनिक प्रतिवेदनले परिवर्तित जलवायुका कारण विश्को कुन क्षेत्र बढी प्रभावित छ भनेर उल्लेख गरेको छ । साथै प्रतिवेदनले विकसित देशहरूले कस्तो काम गरेका छन्, के हुन बाँकी र जोखिमपूर्ण क्षेत्र कुन–कुन हुन् भनी उल्लेख गरेको हुन्छ ।

युनिसेफले २० अगस्टमा ०२१ को जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार दक्षिण एसिया जलवायु परिवर्तनको सर्वाधिक जोखिममा छ । युवाहरूले भरिएको बंगलादेश, अफगानिस्तान, भारत र पाकिस्तानमा जलवायु परिवर्तनको जोखिम उच्च रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । 

विशेषतः यी देशहरूमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाको अवस्था खतराजनक छ । प्रतिवेदनअनुसार जलवायु परिवर्तनको उच्च जोखिमको सूचीमा पाकिस्तान विश्वको १४औँ, बंगलादेश, १५औँ, अफगानिस्तान १६औँ र भारत २६औँ स्थानमा छन् । यी चार राष्ट्रबाहेक तुलनात्मक रूपमा नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख छ । तर, सूचीमा नेपाल ५१औँ तथा श्रीलंका ६१औँ स्थानमा छन् । एसियाकै सानो देश भुटान भने १११औँ स्थानमा छ । 

प्रतिवेदनअनुसार नेपाल र श्रीलंकामा बिस्तारै जलवायु परिवर्तनका समस्या बढिरहेका छन् । तत्कालै यससम्बन्धी कुनै कार्ययोजना तयार नगर्दा पाकिस्तान, भारत, अफगानिस्तान र बंगलादेशकै हाराहारीमै नेपाल र श्रीलंका पुग्न सक्ने युनिसेफको चेतावनी छ ।

दक्षिण एसियामा भुटान कम जोखिम रहेको देशका रूपमा छ । युनिसेफले समग्र ३३ राष्ट्रमा एक अर्ब बालबालिका ‘क्लाइभेन्ट चेन्ज’को उच्च जोखिममा रहेको जनाएको छ । सार्क राष्ट्र माल्दिभ्सले भने आफ्नो रिपोर्ट युनिसेफमा बुझाएको छैन । 

बालबालिकाको अवस्था डरलाग्दो
युनिसेफको प्रतिवेदनमा बालबालिकाको अवस्थालाई देखाउने गरी ‘चिल्ड्रेन्स क्लाइमेन्ट रिक्स इन्डेक्स’ (सिसिआरआई) शीर्षक राखिएको छ । सिसिआरआई शीर्षकअनुसार जलवायु परिवर्तनको पहिलो सिकार बालबालिका हुने गर्छन् । दूषित वातावरणमा हुर्किरहेका बालबच्चाको स्वास्थ्य अवस्था दीर्घकालसम्म नाजुक हुने प्रतिवेदनमा उल्लेख छ । पर्यावरणसम्बन्धी कमजोर नीति अनाएका देशहरूका बालबालिका चक्रवात तथा तातो लहरको निशानामा पर्ने गरेका छन् । 

यस्तो समस्या पाकिस्तान, बंगलादेश तथा भारतका बालबालिकामा व्यापक छन् । ‘हामीले पहिलोपटक दक्षिण एसियामा जलवायु परिवर्तनको ठूलो असर बालबालिकामा परिरहेको तथ्यांक पाएका छौँ,’ युनिसेफका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक जर्ज लार्येय अजेलले भनेका छन्, ‘यस क्षेत्रका बालबालिका फोहोर पानी पिउन बाध्य छन्, स्वच्छ हावा पाउन सकेका छैनन् ।’ 

क्षेत्रीय निर्देशक जर्जले दक्षिण एसियाका गरिबी तथा मध्यसिमानामा रहेका बालबालिका घरविहीन तथा भोकमरीमा छन् । ‘यस क्षेत्रका बालबालिका प्रशोधन नगरिएको पानी पिइरहेका छन् साथै उनीहरूको स्वास्थ्य परीक्षणा पनि नियमित हुने गरेको छैन ।’ सीधै प्रशोधन नगरिएको र फोहोर पानी पिउँदा बालबालिकाको स्वास्थ्य अवस्था कमजोर बनेको उनले बताएका छन् ।

सुझावित समाचार