डाक्टरलाई कालोमोसो दल्ने पक्राउ नपरेपछि स्वास्थ्यकर्मी धर्नामा

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त  मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद  सिंहमाथि कालोमोसो दलेको २४ घन्टा  बित्दा पनि घटनामा संलग्नहरू पक्राउ  नपरेपछि स्वास्थ्यकर्मीहरूले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा  कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले संयुक्त रूपमा आज शनिबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै पक्राउ गर्न चासो नदिएको उनीहरूको आरोप छ । 

शुक्रबार दिउँसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित चार–पाँचजना युवाहरूले डा. सिंहमाथि दुर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवाद भएपछि परियारसहितको टोलीले डा. सिंहलाई कालोमोसो दलेका थिए ।   

साथै, आज स्वास्थ्यकर्मीहरूले कालोपट्टी बाँधेर इमर्जेन्सी सेवा दिएका अस्पतालका  सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । यदि घटनाका विषयमा स्थानीय प्रशासनले चासो नदिए भोलि(आइतबार) बिहान ८ बजे विरोधस्वरूप बजार परिक्रमा गर्ने निर्णय भएको उनले बताए । यदि घटनामा संलग्नहरूलाई पक्राउ नगरेमा आन्दोलनका थप कार्यक्रमहरू आइतबार सार्वजनिक गरिने उनको भनाइ छ । 

अभियुक्तहरू जिल्लाभित्र नहुँदा  समस्या  :  प्रहरी
जिल्ला प्रहरी कार्यालय दाङका  प्रहरी  प्रमुख सुरेशप्रसाद काफ्लेले अभियुक्तहरू जिल्लाबाहिर भएकाले पक्राउ गर्न समस्या रहेको बताए । घटनाका बारेमा समयमा खबर नभएकाले समयमै पक्राउ गर्न नसिकएको उनको भनाइ छ । ‘उहाँहरूले ढिला मात्रै हामीलाई जानकारी दिनुभयो । घटना भएको दुई  घन्टापछि मात्रै हामीलाई खबर भयो’, उनले भने, ‘अस्पतालमै हाम्रा प्रहरी २४ घन्टा खटिएका हुन्छन् । उनीहरूलाई जानकारी दिनुपर्थ्याे । अस्पतालको हाताभित्रैबाट छोप्न सकिन्थ्याे ।’

समयमै जानकारी नदिनु शंकाको विषय बनेको काफ्लेले बताए । अघिल्लो दिन अस्पतालका लेखापालमाथि हातपात हुँदा पनि आफूहरूलाई कुनै खबर नआएको उनले बताए । परियार आज बिहान ८ बजेतिर फेसबुक लाइभमा आएका थिए। अस्पतालमा बेथिति देखिएकाले कालोमोसो दल्न बाध्य भएको उनले प्रतिक्रिया दिएका छन्। 

एमालेमा मत विभाजन
अस्पतालमा भएको घटनाका विषयमा एमालेमा पनि दुई धार देखिएकाे छ । अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले परियार र क्षेत्रीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि एमाले दाङकै  युवा नेता  विवेक श्रेष्ठले आपत्ति जनाएका थिए । यो प्रकरणमा श्रेष्ठले परियार र क्षेत्रीको बचाउ गरेका छन् । बस्नेतले पदको  दुरुपयोग  गरेर विज्ञप्ति  निकालेको उनको छ ।

सुझावित समाचार