सल्यानमा जबर्जस्ती करणीका मुद्दा दोब्बरले बढे

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

सल्यानमा गत वर्षभन्दा यो वर्ष जबर्जस्ती करणीका मुद्दा दोब्बरले बढेको छ । जिल्ला अदालत सल्यानको तथ्यांकमा हेर्ने हो भने गत आर्थिक वर्ष ०७६/७७ मा २४ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७७/७८ मा ४६ थान मुद्दा दर्ता भएका छन् । जुन गत वर्षभन्दा करिब दोब्बरले वृद्धि भएको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताए ।

शुक्रबार जिल्लास्थित पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै श्रेस्तेदार ज्ञवालीले अदालतमा पोहोरको तुलनामा यस वर्ष जबर्जस्ती करणीमा मुद्दा बढेको बताए । यस्तै, सम्बन्धविच्छेदका घटनामा समेत वृद्धि भएको उनले जानकारी दिए । गत आर्थिक वर्ष ०७६/७७ मा एक सय आठ थान मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७७/७८ मा दुई सय २९ थान मुद्दा दर्ता भएको उनको भनाइ छ ।

कम उमेरमा विवाह हुनु, प्रविधिको विकास, वैदेशिक रोजगारी, एक–अर्काप्रति आकर्षण र स्तरमा अन्तरलगायतका कारणहरूले सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको उनले बताए ।  गत आर्थिक वर्ष ०७७/७८ मा अदालतले ६८ दशमलव ३६ प्रतिशत मुद्दा फर्स्याेट गरेको बताए । अदालतमा दर्ता भएका पाँच  सय ७२ मुद्दामध्ये तीन सय ९१ वटा मुद्दा अर्थात् ६८ दशमलव ३६ प्रतिशत फर्स्याेट गर्न सफल भएको उनले बताए ।

सुझावित समाचार