लगातार परेको पानीले रुपन्देहीमा एकजनालाई बगाएको छ। त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदहमा पुल भासिँदा आवागमन अवरुद्ध भएको हो।
त्यसैगरी कृषकले पालेका बाख्रा, कुखुरा, कालिज, माछा बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए। दानव खोलामा बाढीले ल्याएको दाउरा छोप्न गएका सम्मरीमाई– ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएको छ।
शुक्रबार बिहान करिब ६ बजे खोलामा दाउरा छोप्न गएका उनलाई बाढीले बगाएको प्रहरी प्रवक्ता तथा डिएसपी थापाले जानकारी दिए। बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन्।
बाढीले सिद्धार्थ राजमार्गअन्तर्गत भैरुहवा–बुटवल सडकको पूर्वतर्फ बाढी आउँदा सिद्धार्थ राजमार्गको मधवलीया, पथरडाँडालगायतका स्थानमा एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। सडकदेखि पूर्वतर्फ सबै स्थानमा पानीले ढुबाउदा कृषकले पालेका कालिज, कुखुरा, बाख्रा, माछा बगेका छन्।



