युवतीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिएन

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तले गुनासो गरेका छन् । आफ्नै घरको बरन्डामा झुन्डिएको अवस्थामा भदौ–७ गते शव फेला परेकी शिक्षाको आफ्नै श्रीमानले हत्या गरेको भन्दै आफन्तले बिहीबार उनका श्रीमानविरुद्ध किटानी जाहेरी दिएका थिए।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती भएकी शिक्षाले वर्ष दिनअगाडि चिचिंगाका मनकुमार राईसँग प्रेमविवाह गरेकी थिइन्। बाम्राङ माइती घर बसेर दिक्तेलस्थित सरस्वती माविको कक्षा–१२ मा अध्ययनरत शिक्षा केही महिनाअघि मात्र चिचिंगा श्रीमानको घर गएकी थिइन्।

घटना भएको खबर पाउनासाथ भोलिपल्ट बिहान माइतीपक्ष शिक्षाको घर पुग्दा उनको शव शंकास्पद अवस्थामा देखिएकाले उनका श्रीमानविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दाको किटानी जाहेरी दिइएको मृतकका काका ज्ञानबहादुर राईले बताए। “मृतक शिक्षाको हात र निधारमा नीलडाम देखिएको तथा अनुहार रक्ताम्य भएको देखेपछि उनका श्रीमानविरुद्ध कानुनी कारबाही गरी पाउँ भनेर प्रहरीमा किटानी जाहेरी दिएका हौँ,” उनले भने, “प्रहरीले यो आत्महत्या नै हो, हत्या होइन भनेर जाहेरी लिन अस्वीकार गर्यो । यस विषयमा प्रहरी नै पीडकको संरक्षणमा लागेको देखिएको
छ ।”

प्रहरीले शिक्षाको हत्याको किटानी जाहेरी लिन अस्वीकार गरेपछि प्रहरीकै सल्लाहमा श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी लिएर गएको पीडित पक्षले बताएका छन् । कर्तव्य ज्यानसम्बन्धीको किटानी जाहेरी परिवर्तन गरेर पीडित पक्षले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धीको जाहेरी भने प्रहरीले दर्ता गरेको बुझिएको छ।

प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरीसमेत लिन आनाकानी गरेपछि आफूहरूले फोटोसहितको प्रमाण पेस गरिएको आफन्तले बताएका छन्। “हात र निधारको नीलडाम तथा रगत देखिएको कुरा किन गरेको भन्दै हप्कायो,” ज्ञानबहादुरले भने, “आफूहरूसँग प्रमाण रहेको र यहाँबाट कानुनी उपचार नभए अन्यत्र जान्छौँ भनेपछि मात्र प्रहरीले आत्महत्या दुरुत्साहनसम्बन्धीको जाहेरी लिएको छ ।” 

आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएसँगै मृतकको श्रीमानलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । “हामीले किटानी जाहेरी नै लिन नमानेको होइनौं,” उनले भने, “उहाँहरूले आत्महत्या दुरुत्साहनको जाहेरी लिएर आएपछि दर्ता गरेका छौँ । त्यहीअनुसार अनुसन्धान अगाडि बढिसकेको छ।”

घटनास्थलमा आफू स्वयं पुगेर हेर्दासमेत उनको हत्या भएको नदेखिएको सूचना अधिकारी साहले दाबी गरेका छन् । “नियन्त्रणमा लिइएका श्रीमानमाथि अनुसन्धानको क्रम सुरु भएको छ”, उनले भने, “अनुसन्धानको क्रममा हत्या नै भएको रहेछ भन्ने पुष्टि भएमा हत्या गरेको किटानी जाहेरी मागेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।”

मृतकका आफन्तले किटानी जाहेरी नै दिन नआए पनि प्रहरीको प्रतिवेदनकै आधारमासमेत ज्यान मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ । आरोपित व्यक्ति आत्महत्या दुरुत्साहनसम्बन्धीको मुद्दामा दोषी ठहरिएमा कसुरदारले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान छ ।

सुझावित समाचार