सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। आज बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको उल्लेख गर्दै अब उनीहरूलाई समान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताए।
उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरूलाई मात्रै नीति–नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने स्पष्ट पारेका छन्। सभापति देउवाले जानाजान हरेक चार वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको उनको आरोप छ।
‘विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने । तर, पार्टी सभापति भएपछि हरेक चार वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाएर पनि क्रियाशील सदस्यताको काम पार्टीको विधानअनुसार नगर्ने । गरेको भए अहिले यो अवस्था आउँथ्यो ? गर्छु–गर्छु भन्ने तर कामबाट पुष्टि गर्न नसक्ने । मुख्य कुरा पार्टी सभापतिले पार्टीको विधानअनुसार सबैलाई समान रूपमा क्रियाशील सदस्यताको क्राइटेरिया एकनास हुनुपर्याे नि। आफ्नो मान्छेलाई क्राइटेरिया नचाहिने, त्यस्तो नि हुन्छ ! यदि उहाँले त्यसमा पनि जबर्जस्ती गर्नुभयो भने हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ। कस्ता–कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रूपमा के गर्नुपर्छ गर्छौँ,’ नेता सिंहले भने।
उनले आफ्नी आमा तथा महिला हकहितकर्मी स्व. मंगलादेवी सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरूलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरूले आफ्नो हकहित सुरक्षाका लागि अझै लड्न आवश्यक रहेको बताए।