तालिवानले सेप्टेम्बर ११ मा अमेरिकामा भएको घटनामा ओसामा बिन लादेनको संलग्नता नरहेको दाबी गरेको छ। तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एनबिसी न्युजसँग कुरा गर्दै अल कायदाका संस्थापक बिन लादेनको उक्त घटनामा संलग्नता पुष्टि हुने कुनै प्रमाण नरहेको बताएका हुन्।
‘युद्धको २० वर्षपछि पनि कुनै प्रमाण छैन। उनी (बिन लादेन) आक्रमणमा संलग्न थिए भन्ने कुराको प्रमाण हामीसँग छैन। यो युद्धको कुनै औचित्य थिएन। लादेन युद्धका लागि एउटा बहाना मात्र थिए,’ मुजाहिदले भनेका छन्।
१ सेप्टेम्बर २००१ मा अमेरिकामा विमान हमला भएको थियो। अल कायदाले गरेको भनिएको सो आक्रमणमा करिब तीन हजार मानिस मारिएका थिए। आतंकवादी समूहले चार अमेरिकी विमान अपहरण गरेका थिए। जसमध्ये दुई विमान ट्विनटावरमा र एउटा विमान पेन्टागनमा ठोक्काइएको थियो। अर्को चौथो विमान भने घाँसेमैदानमा खसेको थियो।
सोही घटनापछि अमेरिका र नेटो सेना अफगानिस्तान प्रवेश गरेका थिए। तालिवानी प्रवक्ताले सो घटनामा बिन लादेनको संलग्नता नभएको भन्दै उनलाई युद्धको कारक मात्र बनाइएको दाबी गरेका हुन्।