असोजभित्र कामदार इजरायल उड्ने

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

भदौको तेस्रो साता परीक्षा हुने, एक हजारका लागि करिब १० हजारले दिए आवेदन

इजरायल रोजगारीमा जाने कामदारहरूको परीक्षा भदौको तेस्रो साता हुने भएको छ । कोरोना संक्रमणका कारण असर नपरेमा भदौ तेस्रो साता परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । विभागले परीक्षाका लागि कोभिड नियन्त्रण व्यवस्था सेन्टरसँग पत्राचार गरेको छ । केन्द्रले अनुमति दिए तेस्रो परीक्षा सञ्चालन गरिने उनले बताए । प्रक्रियामा कुनै अवरोध सिर्जना नभए कामदार असोज मसान्तसम्म इजरायल उड्ने निर्देशक सुनुवारले बताए । तर, इजरायल सरकारले छनोट प्रक्रिया लम्ब्याएमा कामदार जाने समय पनि लम्बिन सक्ने उनको अनुमान छ । 

१० हजारले दिए आवेदन
वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि १ हजार कामदारको माग गरेकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । विभागका अनुसार साउन अन्तिमसम्म अनलाइनमार्फत ९ हजार ६ सय ९९ कामदारले आवेदन दिएका छन् । आवेदन दिनेमध्येमा ५ हजार ४ सय ९९ पुरुष र ४ हजार २ सय महिला छन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदारको माग गरे पनि आवेदन दिनेमा पुरुषको संख्या अधिक भएको विभागले जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदकहरू लिखित परीक्षामा सहभागी हुनेछन् । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्तासमेत लिइनेछ । लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको प्रयोग गरिने विभागले जनाएको छ ।

इजरायल जान आवश्यक योग्यता
इजरायल जान चाहने नेपाली कामदारले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिकाअनुसार कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमप्राप्त गरेको हुनुपर्नेछ । 

त्यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा १ दशमलव ५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ । तर, एकपटक इजरायल गई काम गरेको कामदार भने फेरि जानका लागि योग्य हुनेछैन । साथै, बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास गरेको वा कार्यरत रहेको कामदारले पनि इजरायलका लागि आवेदन दिन पाउनेछैन ।  

अनुमानित लागत १ लाख ६५ हजार
इजरायल रोजगारीका लागि विभागले अनुमति लागत १ लाख ६५ हजार तय गरेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । उनका अनुसार उक्त रकम अनुमानित हो । टिकट खरिद गर्दा कम पनि हुन सक्नेछ । उनका अनुसार इजरायलका लागि जहाज टिकट १ लाख ४० हजार लाग्ने विभागले अनुमान गरेको छ । तर, यो रकम सबैभन्दा उच्च रकम हो । त्यसैले कामदारले योभन्दा पनि कम रकममा जहाजको टिकट पाउन सक्नेछन् । त्यस्तै, पासपोर्ट बनाउने खर्च ५ हजार, अभिमुखी तालिम र मेडिकलका लागि अनुमानित १० हजार रुपैयाँ गणना गरिएको छ । साथै, कल्याणकारी कोषका लागि दुई वर्षको भिसा हो भने १ हजार ५ सय र तीन वर्षका लागि हो भने २ हजार ५ सय लाग्ने अनुमान गरिएको विभागका महानिर्देशक दवाडीले बताए । 

इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । विभागका अनुसार नेपाली कामदारले १६ सय डलर (आजको मितिमा १ लाख ९० हजार) पाउनेछन् । तर, कामदारले बिमाको रकम, पानी र बिजुलीको खर्च व्यहोर्नुपर्नेछ । रोजगारीमा जाने कामदार संगठित संस्थामा काम गर्नेछन् । विभागका महानिर्देशक दवाडीका अनुसार यसअघि जाने कामदारले घरमा काम गर्थे भने अब जाने कामदार भने हस्पिटल, नर्सिङ होम, केयर होमलगायतका संस्थामा काम गर्नेछन् । नेपाल सरकार र इजरायलबीच ०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा केयर गिभरमा कामदारहरू पठाइनेछ । 

इजरायल रोजगारीको छनोट प्रक्रिया
इजरायल रोजगारीका लागि छनोट गर्दा विभागले आवेदन दिएका कामदारको कागजपत्र प्रमाणीकरणबाट छानिएका आवेदकको अंग्रेजी भाषा र सीप परीक्षा लिइनेछ । लिखित परीक्षामा टिक लगाउने प्रश्न आउनेछन् । परीक्षामा ६० प्रतिशत भाषा र ४० प्रतिशत सीपसम्बन्धी प्रश्न आउनेछन् । सो परीक्षाबाट १६ सय ४० लाई विभागले छनोट गर्नेछ । लिखित परीक्षाबाट छानिएकालाई अनलाइनमार्फत सूचना दिएर अन्तर्वार्ताका लागि बोलाइनेछ ।

लिखित परीक्षा ८० नम्बरको हुनेछ भने अन्तर्वार्ता २० नम्बरको हुने विभागले जनाएको छ । लिखित परीक्षा भएको भोलिपल्ट नै नतिजा सार्वजनिक गरिने विभागले प्रयास गरेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । अन्तर्वार्ताबाट १ हजार ४ सय कामदारको छनोट गरिनेछ । छनोट गरिएको नामसूची इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटीमा पठाइने विभागका महानिर्देशक दवाडीले बताए । 

अन्तिम १ हजार ४ सयमा छनोट भएका कामदारलाई रोस्टरमा राखिनेछ । रोस्टरमा राखिएको नामसूचीबाट इजरायलका रोजगारदाताले माग गरेअनुसार चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ । यो वर्ष इजरायलले १ हजार कामदारको माग गरेको विभागका महानिर्देशक दवाडीले बताए । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदार पठाइनेछ ।

चिट्ठा प्रणालीमार्फत छनोट भएका कामदारको नाम विभागमा पठाइनेछ । विभागले कामदारसँग पाँच दिनभित्रमा सम्झौता गरी भिसा प्रक्रिया सुरु गर्नेछ । भिसा नेपालस्थित इजरायल दूतावासले तय गर्नेछ । भिसा तय भएपछि कामदार आफैँले जहाजको टिकट खरिद गरी इजरायल जान सक्नेछन् ।

इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुनेछ । तर, रोजगारदाताले चाहेमा ५ वर्षसम्मका लागि गर्न सक्नेछ । तर, पाँच वर्षपछि भने कामदार अनिवार्य रूपमा नेपाल फर्कनुपर्नेछ । 

See More On

सुझावित समाचार