मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ५५.८९ अंकले घट्दा तीन हजार एक सय २५.०१ बिन्दुमा पुगेर बन्द भएको छ। आज उच्च अंकले गएको पहिरोमा जलविद्युत् समूहका लगानीकर्ताले धेरै गुमाएका छन्। यस दिन ५० वटा कम्पनीको सेयर हरियो हुँदा बाँकी सबै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यसअघिका दिनहरूमा तीव्रसँग वृद्धि भएको हाइड्रोपावर समूहको मूल्यमा आज ठूलो पहिरो गएको छ।
विद्युत् नियमन विभागले जलविद्युत् कम्पनीको सेयर खरिदमा चलखेल भएको भन्दै लगानीकर्तालाई कम्पनीको अध्ययन गरेर मात्र दोस्रो बजारमा कारोबार गर्न सुझाब दिएको थियो। लगानीकर्तालाई झुक्याउने र गलत सूचना दिने कम्पनीलाई आयोगले आवश्यक कारबाही गर्ने बताएपछि जलविद्युतकाे सेयर मूल्य घटेको हो।
कारोबारमा आउने १३ समूहका सूचकमध्ये हाइड्रोपावर समूहको सूचक ६.२१ अंकले घटेको छ। फाइनान्स र निर्जीवन बिमा समूहमा हरियाली छाउँदा बाँकी समूहको सूचक नकारात्मक बनेका छन्। अधिकांश हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
नेसनल हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर सिनर्जी पावर डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत्, जोशी हाइड्रोपावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो डेभलपमेन्ट, शिवश्री हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनर र लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, माउन्टेन हाइड्रो, हिमालयन ऊर्जा विकास, च्याङ्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि निराश बनेका छन्।
मंंगलबार धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका दुई २५ कम्पनीको दुई करोड ५३ लाख कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।
पहिलो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ। यस दिन कम्पनीको ७५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसैगरी, अरुण काबेली पावरको ७१ करोड ९१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावर कम्पनीको ५८ करोड ५३ लाख रुपैयाँ, रिडी हाइड्रोपावर डेभलपमेन्टको ४७ करोड २० लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडको ४१ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।