माग पूरा नभएपछि सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्। नेतृत्वसमक्ष राखेका माग पूरा नभएपछि उनीहरूले मंगलबार सांकेतिक रूपमा धर्ना सुरु गरेका हुन्। भदौ ५ मा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरूको भेलाले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्नेलगायतका तीनबुँदे माग राखेको थियो।

काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यले माग पूरा नभएकाले सांकेतिक रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घन्टा धर्ना बसेको जानकारी दिए। माग पूरा नभएसम्म धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जिल्ला सभापतिहरूको भनाइ छ।
 
जिल्ला सभापतिहरूले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यतामा देखिएको विवाद विधान र निर्धारित मापदण्डअनुसार छानबिन गरेर अन्तिम रूप दिनुपर्ने तथा जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा दाेहोरो व्यवस्था हटाएर निर्वाचन निर्देशिकालाई संशोधन गर्न माग गर्दै सभापति देउवालाई भदौ ७ सम्मको अल्टिमेटम दिएका थिए। समयभित्र माग पूरा नभएपछि आजबाट जिल्ला सभापतिहरूले धर्ना सुरु गरेका हुन्।

सुझावित समाचार