दाङमा कस्तुरीको बिना र चितुवाको छालासहित पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार अपराह्न ४ बजेतिर घोराहीको एक होटेलमा कस्तुरीको बिना बिक्री गर्न लागेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोराही उपमहानरपालिका– ७ का ३३ वर्षीय मोहन बुढा र प्युठानको प्युठान नगरपालिका– १ का २२ वर्षीय मदन केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूको साथबाट ३१ ग्राम दुई सय मिलिग्राम कस्तुरीको अवैध बिना बरामद भएको कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।
त्यस्तै, बुधबार अपराह्न चितुवाको छालासहित तीनजना पक्राउ परेका छन्। छालासहित बैतडीको पाटन नगरपालिका– ६ का २० वर्षीय विमल औजी, २८ वर्षीय प्रदीपकुमार विक र २० वर्षीय हेमन्त औजी पक्राउ परेका हुन्।
उनीहरूले प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारभित्र लुकाएर ल्याएको पुच्छरदेखि टाउकोसम्मको सात फिट ६ इञ्च लम्बाइ र अगाडिको खुट्टाको बीचको चार फिट सात इन्च भएको छाला एक थान, टाउकोदेखि पुच्छरसम्मको लम्बाइ दुई फिट आठ इन्च तथा पुच्छरदेखि टाउकोसम्मको लम्बाइ दुई फिट भएको जम्मा तीन थान छाला बरामद भएको प्रहरीले जनाएको छ।