काभ्रेका स्थानीय तहको बेरुजु ५७ करोडभन्दा बढी

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

महालेखा परीक्षकको कार्यालयले तयार पारेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रे जिल्लाका स्थानीय तहहरूको बेरुजु ५७ करोडभन्दा बढी देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष ०७६/७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार देखिएको हो।

जिल्लामा ६ नगरपालिका र सातवटा गाउँपालिका गरी १३ स्थानीय तह छन् । प्रतिवेदनअनुसार ६ नगरपालिकामध्ये प्रतिशतको आधारमा मण्डनदेउपुर नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ। मण्डनदेउपुर नगरपालिकाको ५.४६ प्रतिशत बेरुजु देखिएको छ। मण्डनदेउपुर नगरपालिकाको एक अर्ब ४६ करोड ६८ लाख तीन हजार रुपैयाँको लेखापरीक्षण भएकोमा ८ करोड ७७ हजार बेरुजु देखिएको हो। त्यस्तै, सात गाउँपालिकामध्ये प्रतिशतको आधारमा तेमाल गाउँपालिकाको बेरुजु बढी रहेको देखिन्छ । गाउँपालिकाको ९.७० प्रतिशत बेरुजु रहेको छ । प्रतिवेदनअनुसार तेमाल गाउँपालिकाले ९५ करोड २७ लाख २७ हजारको लेखापरीक्षण गरेकोमा ९ करोड २४ लाख ४ हजार बेरुजु रहेको छ।

पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकाको बेरुजु सबैभन्दा कम छ । प्रतिवेदनअनुसार पाँचखाल नगरपालिकाको ०.८६ प्रतिशत बेरुजु रहेको छ । एक अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखापरीक्षण भएकोमा नगरपालिकाको बेरुजु एक करोड १९ लाख ३५ हजार छ । त्यस्तै, महाभारत गाउँपालिकाको ०.४३ प्रतिशत रहेको छ । ६७ करोड ७९ लाख १३ हजारको लेखपरीक्षण गर्दा २९ लाख ४० हजार बेरुजु देखिएको छ।

यसैगरी, पनौती नगरपालिकाको दुई अर्ब तीन करोड ११ लाख ७४ हजारको लेखापरीक्षण गर्दा ७ करोड ३५ लाख ९२ हजार अर्थात् ३.६२ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा जनाइएको छ । नमोबुद्ध नगरपालिकाको एक अर्ब ३४ करोड ६४ लाख ६२ हजारको लेखापरीक्षणमा बेरुजु रकम तीन करोड ८० लाख ८४ हजार अर्थात २.८३ प्रतिशत, बनेपा नगरपालिकाको एक अर्ब ६८ करोड ४ लाख ९४ हजारको लेखापरीक्षणमा ३ करोड ८३ लाख ५२ हजार अर्थात् २.२८ प्रतिशत र धुलिखेल नगरपालिकाको एक अर्ब ५९ करोड ११ लाख ८६ हजारको लेखापरीक्षणमा एक करोड ५७ लाख ७६ हजार अर्थात् ०.९९ प्रतिशत बेरुजु देखिएको छ।

प्रतिवेदनअनुसार बेथानचोक गाउँपालिकाको ७४ करोड ९७ लाख ९६ हजारको लेखापरीक्षणमा पाँच करोड ९७ लाख ५१ हजार अर्थात् ७.९७ प्रतिशत तथा भुम्लु गाउँपालिकाको ९५ करोड ५३ लाख ६५ हजारको लेखापरीक्षणमा पाँच करोड ८४ लाख ३६ हजार अर्थात् ६.१२ प्रतिशत बेरुजु देखिएको छ। यसैगरी, चौरीदेउराली गाउँपालिकाले एक अर्ब ४ करोड ४१ लाख २६ हजारको लेखापरीक्षणमा ५ करोड ४७ लाख ५७ हजार अर्थात  ५.२४ प्रतिशत, खानीखोला गाउँपालिकाको ६० करोड ४० लाख ७२ हजारको लेखापरीक्षणमा दुई करोड ६ हजार अर्थात् ३.३१ प्रतिशत र रोशी गाउँपालिकाको एक अर्ब ३५ करोड ४३ लाख ७९ हजारको लेखापरीक्षणमा दुई करोड ३४ लाख ४० हजार अर्थात् १.८८ प्रतिशत बेरुजु देखिएको छ।

सुझावित समाचार