क्रियाशील सदस्यता विवरण सार्वजनिक नगरे जिल्ला सभापतिहरूले अनशन थाल्ने

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट सभापतिहरूको भेलाले नेतृत्वलाई ७ भदौभित्र विवरण सार्वजनिक गर्न माग गरेको हो।

जिल्ला सभापतिहरूको भेलाले भदौ ७ भित्र विवरण सार्वजनिक नगरिए पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन बस्ने चेतावनी दिएकाे छ। भेलामा सहभागी काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यका अनुसार राजधानीमा उपस्थित र जुममार्फत उपस्थित ५३ जिल्लाका जिल्ला सभापतिहरूको भेलाले यस्तो निर्णय गरेको हो। समयभित्र विवरण सार्वजनिक नगरिए शान्तिपूर्ण आन्दोलनमा जाने निर्णय भएको उनले जानकारी दिए।

‘भूमिगत पार्टी जसरी क्रियाशील सदस्यता विवरण सार्वजनिक नगर्नुपर्ने स्थिति आउनु दुर्भाग्यपूर्ण हो। पार्टी सभापतिहरूले विवरण हेर्न पाउनु, सुसूचित हुन पाउनुपर्ने अधिकार हो,’ सभापति आचार्यले नयाँ पत्रिकासँग भने, ‘भदौ ७ भित्र सार्वजनिक नगरिए केन्द्रीय कार्यालयमा धर्ना र अनशनजस्ता शान्तिपूर्ण आन्दोलनका कार्यक्रम थाल्ने निर्णय भएको छ।’

सुझावित समाचार