निःशुल्क उपचारका नाममा दुई अर्ब ३० करोड सकियो, आर्थिक सहायता भन्दै १० करोड बाँडियो

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

सरकारले आर्थिक सहायताका नाममा तीन सय १४ जनालाई १० करोड बाँडेको पाइएको छ। महालेखापरीक्षककको ५८औँ प्रतिवेदनले यस्तो तथ्य औँल्याएको हो। 

प्रतिवेदनमा आर्थिक वर्ष ०७६/७७ मा तीन सय १४ जना व्यक्ति तथा संस्थालाई सरकारले नाै करोड ११ लाख ६७ हजार वितरण गरेको उल्लेख छ। प्रतिवेदनमा आर्थिक सहायता दोहोरो पर्ने गरी वितरण गरिएकाले यसलाई सुधार गर्न सुझाब दिइएको छ।  

त्यस्तै, विपन्न नागरिकको उपचार गर्ने स्वास्थ्य संस्थाको अनुगमन हुन नसकेको प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा आर्थिक सहायता (नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधि,२०६८ दोस्रो संशाेधन २०७३) अनुसार राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई औषधोपचारका लागि बाहेक अन्य प्रयोजनका लागि कुनै पनि व्यक्तिलाई आर्थिक सहायता उपलब्ध नगराइने उल्लेख भएकोमा यसविपरीत भएको उल्लेख गरिएको छ। 

त्यस्तै, सामाजिक रूपमा पिछडिएका वा आर्थिक रूपमा विपन्न नागरिकहरूका लागि राज्यले विशेष व्यवस्था गर्न तथा औषधाेपचारबापत सहायता पुर्याउन मुटु, मिर्गाैला, क्यान्सर, पार्किनसन्स,अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेडइन्जुरी र सिकलसेल एनिमिया रोग पहिचान र निःशुल्क उपचार गर्न दुई अर्ब ३० करोड ७९ लाख २५ हजार विभिन्न अस्पताललाई शाेधभर्ना गरिएको उल्लेख छ।

सुझावित समाचार