ढोकाबाट छिर्नेबित्तिकै आउँछ, एउटा फराकिलो आँगन। इँटा, काठ, झिँगटी र टुँडालबाट निर्मित मौलिक भवनले आँगनलाई घेरिरहेका छन् चारैतिरबाट। आँगनको बीचमा छ कमल शैलीको मन्दिर। ऐतिहासिक सानका रूपमा रहेको पाटन दरबार क्षेत्रभित्र पर्ने ‘मूलचोक’ यतिवेला मानिसविनाको रित्तो घरझैँ देखिन्छ।
कोरोना महामारी सुरु हुनु पहिले विदेशी पाहुनासमक्ष नेपाली प्राचीनता झल्काउने यो चोक अहिले शान्त मात्रै छैन, सुनसान पनि छ। प्राचीनकालीन कला–कौशलको बेजोडता रहेको मूलचोक पाटन दरबार क्षेत्रको प्रवेशद्वार हो। यही चोकमा राजा सिद्धिनरसिंह मल्लले नाच हेर्थे, आराम गर्थे। आफ्ना पाहुनालाई वरिपरिको पेटीमा बसाल्थे र यही बाटो हुँदै ओहोरदोहोर गराउँथे।
कोरोना महामारी सुरु हुनुअघि यो चोकमा घुम्न र फोटो खिच्न आउनेहरूको निकै भिड लाग्थ्यो। तर, यतिवेला मूलचोकमा घुम्न रोक लगाइएको छ। यहाँ न त विदेशी पर्यटकहरू आउँछन् न त स्वदेशी। मूलचोकलाई ‘नाच देखाइने आँगन’ पनि भनिन्छ। यहाँ नवदुर्गा, कात्तिक र अन्य नेवारी नाचहरू प्रदर्शन गरिन्छ। हाललाई भने नाच प्रदर्शन बन्द गरिएको छ।
सधैँ पाहुनाले भरिने यो चोक हाललाई बन्द गरिएको पुरातत्व विभाग ललितपुर शाखाले जनाएको छ। बाहिरी ढोका बन्द गरेर रेखदेख मात्रै र प्राविधिक काम भइरहेको शाखा प्रमुख शारदा सिवाकोटीले जानकारी दिइन्। उनका अनुसार पर्यटक तथा अवलोकनकर्ता ओहोरदोहोर नगर्दा मूलचोक मात्रै होइन, राजा सिद्धिनरसिंह बस्ने सुन्दरी र केशवनारायण चोक पनि सुनसान छ। सुनको जलपयुक्त धारोसमेत रहेको यो चोक दरबार क्षेत्रको अमूल्य सम्पत्ति मानिन्छ। तर, पछिल्लो समय कोरोना महामारीका कारण दरबारको ढोका बन्द छन्। अवलोकनकर्ता नआउँदा र सरसफाइ नहुँदा दरबारको आँगनमा लेउसमेत जमेको छ।
पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखेले लामो समय बन्द गरिएका कारण दरबार क्षेत्रको आँगनमा लेउ जमेको बताए। उनले हाल आगन्तुकलाई निषेध गरिए पनि कार्यालय भने सुचारु भइरहेको जानकारी दिए। उनका अनुसार संक्रमणको वेला उपत्यकाका मुख्य पुरातात्विक सम्पदा क्षेत्र बन्छ छन्। पाटन, भक्तपुर र वसन्तपुर दरबार क्षेत्र वैशाख १६ गतेदेखि बन्द गरिएको थियो। दरबार क्षेत्र बन्द गर्दा भित्री चोकहरूमा झार उम्रिने तथा लेउ लाग्न थालेको हो। ‘अहिले दरबार क्षेत्र निकै सुनसान बनेको छ, दरबारको आम्दानी पनि छैन,’ लाखेले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर दरबार खोल्न पर्यटन मन्त्रालयसँग माग गरिरहेका छौँ, तर अनुमति दिइएन।’ उनका अनुसार गत वर्ष लकडाउनको वेला सम्पदा क्षेत्र बन्द गरिए पनि वैशाखभन्दाअघि केही पयर्टकहरू आएका थिए। तर, संक्रमण बढ्न सक्ने भन्दै सरकारले सम्पदा क्षेत्रमा ओहोरदोहोर र अवलोकन गर्न रोक लगाएको थियो। अब भने स्वास्थ्य सावधानी अपनाएर आन्तरिक पर्यटकका लागि दरबार सुचारु गर्न सकिने लाखेको भनाइ छ।

आगन्तुक रोक्दा पुनर्निर्माण कार्य सहज
कोरोना महामारीका कारण दरबार क्षेत्र अवलोकनमा रोक लगाए पनि ०७२ को भूकम्पले क्षति पुर्याएका दरबारभित्रका पुराना संरचना पुनर्निर्माणको काम भने चलिरहेको छ। दरबारभित्रका अधिकांश संरचना पुनर्निर्माण भइसकेका छन्। केही पुरातात्विक संरचना निर्माणाधीन अवस्थामा छन्। अवलोकनकर्ता आइरहेको समयमा काम गर्न अवरोध हुने भएकोले यो समयमा पुनर्निर्माण गर्न सहज भइरहेको छ। हेरचाह कार्यालयका प्रमुख लाखेले अन्य समयमा भन्दा यो समयमा काम गर्दा छिटो सकिने जानकारी दिए। उनका अनुसार दरबारभित्र मूलचोकको उत्तरी मोहडाबाहेक सबैजसो संरचना पुनर्निर्माण कार्य सकिएको छ । त्यस्तै दरबारको बाहिरपट्टि रहेका अधिकांश मन्दिर पनि बनिसकेका छन्। हाल भीमसेन, भाइदेग र च्यासी देग (आठकुने) मन्दिरको पुननर्निर्माण कार्य भइरहेको छ। यसबाहेक दरबार क्षेत्रमा क्षतिग्रस्त, कृष्ण मन्दिर, दुईवटा मणिमण्डप पार्टी, चार नारायण मन्दिर, तलेजुलगायतको पुनर्निर्माण कार्य सकिएको छ। यी मन्दिर र पार्टी पुनर्निर्माण गर्ने जिम्मा काठमाडौं उपत्यका संरक्षण विकास कोष (केभिपिटी) ले लिएको छ। कोषले सबैजसो सम्पदा बनिसकेको जनाएको छ। ‘हामी जिम्मा लिएका मन्दिरहरू पुनर्निर्माण भइसकेका छन्, अन्य मन्दिर र पुरातात्विक संरचना बनाउने कार्य अन्य निकायको हो, महामारीले पुनर्निर्माण कार्यमा खासै अवरोध भएन,’ कोषका प्रमुख रोहित रञ्जितकारले भने।
भिडियो
कोरोना संक्रमणलाई ध्यानममा राख्दै दरबार क्षेत्र बन्द गरे तापनि पुनर्निर्माण भने चलिरहेको छ। हाल भीमसेन मन्दिर स्थानीयकै सक्रियतामा पुनर्निर्माण कार्य भइरहेको छ। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले महामारीको वेला समुदायस्तरको सक्रियतामा सम्पदा पुनर्निर्माण कार्य भइरहेको बताए। ‘अहिले पनि पुनर्निर्माण कार्य चलिरहेको छ, महामारीको वेला पुनर्निर्माण कार्य गर्न केही सहज पनि भएको छ,’ उनले भने, ‘तर, निर्माण सामग्री ल्याउन भने असहज भइरहेको छ।’
दरबार क्षेत्रको आँगनमा इँटा बिछ्याउने कार्यमा ढिलाइ
पाटन दरबारको डबली र आगन अहिले जीर्ण अवस्थामा छन् । धेरै वर्षअघि बिछ्याइएका इँटा टुक्रिएका छन्। ठाउँठाउँमा खाल्डा छन्। तर, त्यसलाई मर्मत गर्नेतर्फ चासो दिइएको छैन। ललितपुर महानगरपालिकाले डबलीमा इँटा बिछ्याउने योजना गत वर्ष नै अघि सारेको थियो। तर, हालसम्म पनि उक्त कार्य अघि बढेको छैन। डबली मर्मत नगर्दा आकाशे पानी त्यहीँ जाम हुने गरेको छ। ललितपुर महानगरपालिकाका प्रवक्ता रुद्र गौतमले सम्पदा क्षेत्रमा नयाँ इँटा बिछ्याउने विषयमा छलफल भइरहेको बताए। उनले भने, ‘पाटन क्षेत्रका सबैजसो सडकपेटीमा ढुंगा र इँटा बिछ्याइसकिएको छ, केही ठाउँमा मात्रै बाँकी छ, त्यसमा पनि केही महिनामै काम सुरु हुन्छ।’ उनका अनुसार दरबार क्षेत्रमा वर्षातको वेला ढलसमेत जाम हुने गरेको छ। उक्त समस्या समाधानका लागि महनगरपालिकाले लगनखेलदेखि शंखमूलसम्म नयाँ ढल व्यवस्थापनको कार्य गरिरहेको छ।

नेपालकै पहिलो हेरिटेज गार्डेन बनाइँदै
ललितपुरको पाटन दरबार क्षेत्रको भण्डारखाल साइटमा हेरिटेज गार्डेन बनाउने कार्य सुरु भएको छ। पुरातात्विक वस्तुहरू राख्न पाटन संग्रहालयले उक्त गार्डेन बनाउन लागेको हो। तीन महिनाभित्र सकिने गरी भण्डारखाल क्षेत्रमा गार्डेन निर्माण बनाउन सुरु गरिएको संग्रहालय प्रमुख लाखेले बताए।
पाटन दरबार क्षेत्रमा बन्न लागेको गार्डेन नेपालकै पहिलो पुरातात्विक गार्डेन हो। बगैँचाकाे आकारमा संग्रहालय निर्माण गरी त्यसभित्र पुरातात्विक वस्तुहरू राखिनेछ। बीचबीचमा रूख पनि रोपिनेछ। वरिपरिबाट ढोका लगाउन मिल्ने गरी पर्खाल लगाइनेछ। बगैँचाको माथिपट्टि छानो राखिनेछ। ‘यस्तो प्रकारको बगैँचा पहिलोपटक बन्न लागेको हो, हामीले पुरातत्व विभाग, ललितपुर महानगरपालिकासँग मिलेर पुरातात्विक बगैँचा बनाउन सुरु गरेका हौँ,’ लाखेले भने, ‘त्यसमा पनि पुरातात्विक वस्तुहरू सजाइन्छ।’
पाटन दरबार क्षेत्रमा हेरिटेज गार्डेन बनाउनुपर्छ भन्दै संस्कृतिविद् सत्यमोहन जोशीले चार वर्षअघिदेखि नै ललितपुर महानगर र पाटन संग्रहालयलाई आग्रह गरेका थिए। जोशीको अवधारणाअनुसार नै नयाँ गार्डेन तयार पार्न लागिएको पाटन संग्रहालयले जनाएको छ।
म्युजिक भिडियोबाट आम्दानी
पाटन दरबार क्षेत्रको आम्दानीकाे स्रोत भनेकै यहाँ आउने पर्यटक नै हुन्। पर्यटक प्रवेश गर्दा लिइने शुल्क नै दरबार क्षेत्रको कमाइ हो। यही कमाइबाट दरबार संग्रहालयले सम्पदा क्षेत्रमा सम्पदा मर्मत र सुधारको काम गर्दै आइरहेको छ। तर, कोरोना संक्रमणयता दरबार क्षेत्रको आम्दानी छैन। संक्रमणको वेला दरबार क्षेत्र सर्वसाधारणका लागि खुला गर्दा संक्रमण फैलने डरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तीनवटै जिल्लाका दरबार क्षेत्र बन्द गरेको छ। कोरोना संक्रमणको वेला लामो समय दरबार क्षेत्रको कमाइ नभएपछि पाटन संग्रहालयले आम्दानी र प्रचारप्रसारका लागि भन्दै भिडियो सुटिङ गर्न भने खुला गरेको छ। सामान्य आम्दानीसँगै प्रचारप्रसार पनि हुने भएकोले भिडियो सुटिङ गर्न खुला गरिएको संग्रहालय प्रमुख लाखेले जानकारी दिए। जेठयता भिडियो सुटिङबाट मासिक २० हजारभन्दा बढी कमाइ हुने गरेको उनको भनाइ छ।
मास्कविना दरबार क्षेत्रमा ‘नो इन्ट्री’
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रको आँगन तथा डबलीमा आउनेको संख्या बढेपछि कडाइ गरेको छ। महानगरले विनामास्क दरबार क्षेत्रमा ओहोरदोहोर गर्न रोक लगाएको छ। ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले कोरोना संक्रमण बढिरहेको अवस्थामा पनि कृष्ण मन्दिर आसपासमा भिडभाड बढ्न थालेकोले मास्क अनिवार्य गरिएको जानकारी दिए। उनले भने, ‘अहिले सबैतिर भिडभाड छ, तर ललितपुरमा कसैलाई पनि विनामास्क हिँडे कारबाही हुन्छ, सम्पदा क्षेत्रमा मास्क नलगाए सय रुपैयाँ जरिवाना लिन्छौँ।’