नेप्सेमा १८ अंकको करेक्सन आउँदा निर्जीवन बिमामा लगानीकर्ताको आकर्षण

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन आएको छ । अघिल्लो दिन झन्डै ३२ सयको बिन्दुमा पुगेको नेप्से बिहीबार १८.२४ अंकले घटेर ३ हजार १ सय ८०.७८ बिन्दुमा पुगेर बन्द  भएको हो।

अघिल्लो दिन नयाँ रेकर्ड कायम रेको नेप्सेले यस दिन भने करेक्सनको बाटो समातेको छ। करेक्सनसँगै हाइड्रोपावरतर्फ उच्च आकर्षण  रहेको लगानीकर्ताको ध्यान फेरिएर बिमातर्फ मोडिएको छ। यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ८.३३ अंकले घटेर ५ सय ९०.१५ बिन्दुमा पुगेको छ।

बिहीबार निर्जीवन बिमा समूहको सूचक ३ प्रतिशतले बढेको छ भने जीवन बिमा र फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको हो। बाँकी रहेको अन्य सूचक नकारात्मक बन्न पुगेका छन्। नेप्सेमा करेक्सन आए पनि सेयर खरिद–बिक्रीमा भने लगानीकर्ताको उत्साह कायमै रहेको छ । कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम चलेको र वित्तीय विवरणहरू पनि आउने क्रम रहेकाले बजारको सेयर खरिद–बिक्री कारोबार रकम सकारात्मक बनेको हो।

तीन कम्पनीमा नकारात्मक सर्किट
आज तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । हाइड्रो इलेक्ट्रिक सिटी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो। न्यादी पावर कम्पनी र माउन्टेन हाइड्रो नेपाल कम्पनीको सेयर लगानीकर्ताहरू निराश बनेका छन्।

नेप्सेमा करेक्सन आए पनि जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, साना किसान विकास बैंक, सिइडिबी हाइड्रोपावर, युनाइटेड इस्योरेन्स नेपालको सेयर मूल्य बढेको छ। आज यी कम्पनीका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भएका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २९ कम्पनीको ३ करोड  ९ लाख  कित्ता सेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। 

पहिलो कारोबार हुने कम्पनीमा अरुण काबेली पावर कम्पनी पावर कम्पनीको १ अर्ब १६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ अर्ब १६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी, धेरै कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीको यस दिन ८३ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री हुँदा रिडी हाइड्रोपावर कम्पनीको ५८ करोड रुपैयाँको कारोबार भएको छ भने हाइड्रो इलेक्ट्रिक इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको ४८ करोड रुपैयाँको कारोबार भएको छ ।

सुझावित समाचार