व्यक्ति हत्याको झुटो आरोपमा ४१ वर्ष भारतीय जेलमा कष्टकर जीवन बिताएर घर फिर्ता भएका दुर्गाप्रसाद तिम्सिनालाई मानव सेवा आश्रममा राखिएको छ ।
उपचार अभावले संरक्षण र सुरक्षामा समस्या आउन थालेपछि अधिकारकर्मीहरूको पहलमा उपचारसहितको संरक्षणका लागि ६१ वर्षीय दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको हो ।
दुर्गाप्रसादलाई उनको हेरचाह गर्दै आएका १९ वर्षीय भतिज गोपाल तिम्सिना, मानव अधिकार संरक्षण मञ्चका निर्देशक श्याम माबुहाङ, माई नगरपालिकाकी सहजकर्ता निरुता थापाको टोलीले बुधबार इलामको माई नगरपालिका– १० लुम्बाकस्थित घरबाट विराटनगर– २ स्थित मानव सेवा आश्रममा ल्याएर दुर्गाप्रसादलाई जिम्मा लगाएका छन् ।
अधिकारकर्मीहरूको विशेष आग्रहमा दुर्गाप्रसादलाई सकेसम्म उपचारसहित विशेष केयर गरेर राखिने आश्रमका संयोजक नवराज केसीले बताए । हेरचाह गर्दै आएका भतिज गोपालका अनुसार दुर्गाप्रसादले आफ्नो सरसफाइ आफैँ नगर्ने र अरूलाई पनि गर्न नदिने, जे पायो त्यही खाइदिने, केही भनेमा हेरचाह गर्ने परिवारका सदस्यलाई नै आक्रमण गर्ने अनि जतिखेर पायो उतिखेर घर छाडेर अलपत्र अवस्थामा जहाँ पायो त्यही हिँड्न थालेपछि उनको संरक्षण र सुरक्षामा समस्या आएको हो ।
भतिज गोपालले भने, ‘ठूलोबुबा कतिखेर घर छाडेर अलपत्र भौँतारिँदै हिँडिदिनुहोला र हराउनुहोला अनि भिरबाट खसेर ज्यान जाला भन्ने पीर थपिएकाले उपचारसहितको संरक्षणका लागि मानवसे वा आश्रममा राख्न ल्याउँदै छौँ ।’
४१ वर्षपछि घर फर्कँदा हर्षित भएका परिवारका सदस्यहरू दुर्गाप्रसादलाई हेरचाह गर्न र उनलाई सम्हाल्न गाह्रो भएपछि उपचारसहितको संरक्षणका लागि सरकार र सामाजिक संघसंस्थाहरूसँग गुहार मागेका थिए ।