ब्याज आम्दानी खुम्चिए पनि बैंकहरूको नाफा २० प्रतिशतले वृद्धि, वाणिज्य बैंकको मुनाफा ५२ अर्ब ८० करोडबाट ६३ अर्ब पुग्यो

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

बैंकहरूको आम्दानीको मुख्य स्रोत ब्याज हो, तर गत आर्थिक वर्षमा ब्याजबाट हुने आम्दानी २ दशमलव ४५ प्रतिशतले मात्रै बढेको छ, तर सेयर कारोबारबाट उच्चदरमा नाफा कमाएका बैंकहरूले खराब कर्जा उठेपछि प्रोभिजनिङबापतको रकम फिर्ता ल्याएर पनि नाफा बढाएका छन्

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानी अर्थात् ब्याज आम्दानीको वृद्धिदर उत्साहजनक नभए पनि नाफा भने २० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७६/७७ मा ५२ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका वाणिज्य बैंकहरूले गत आव २०७७/७८ मा भने ६३ अर्ब नाफा कमाएका हुन् । 

वाणिज्य बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानी अर्थात् खुद ब्याज आम्दानी भने २ दशमलव ४५ प्रतिशतले मात्रै वृद्धि भएर १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । ब्याजदर सस्तिएको कारण बैंकहरूले कम लागतमा पुँजी पाइरहेका भए पनि उच्च प्रतिस्पर्धाको कारण कर्जाको ब्याजदरमा समेत गिरावट आएको छ । यहीकारण बैंकहरूको निक्षेप र कर्जाको ब्याजअन्तर स्प्रेड दरसमेत राष्ट्र बैंकले तोकेकोभन्दा पनि कम हुँदै आएको छ । 

राष्ट्र बैंकले स्प्रेड दर अधिकतम ४ दशमलव ४ प्रतिशतसम्म राख्न सक्ने सुविधा दिए पनि हाल २१ वाणिज्य बैंकको स्प्रेड दर ४ प्रतिशतभन्दा कम छ । औसतमा भने यो दर ३ दशमलव ६२ प्रतिशत छ । 

बैंकहरूको सेयर कारोबारबाट भएको आम्दानी बढेको र जोखिमबापतको प्रावधान घटेकोले पनि नाफामा सुधार भएको हो । सेयर लगानीबाट हुने आम्दानीसमेत जोडिने अन्य सञ्चालन आम्दानीमा ३ सय ९ प्रतिशतले वृद्धि भएर १२ अर्ब ३९ करोड पुगेको छ । त्यस्तै, बैंकहरूले कर्जा उठेसँगै ७ अर्ब रुपैयाँ कम प्रावधान राखेका छन् । यस्तो प्रावधान राखिएको रकम भने ११ अर्ब ८४ करोड रुपैयाँ छ । 

‘बैंकहरूले सदैव सेयर बजारबाट कमाउने अवस्था बन्दैन,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘यसलाई अलग्याएर हेर्ने हो भने बैंकहरूको नाफा नगण्य छ, बैंकहरूलाई नाफा बढाउन चुनौती छ ।’

कुमारी बैंक, नेपाल बंगलादेश बैंकलगायतको नाफा ७२ देखि ८४ प्रतिशतसम्म वृद्धि भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंक, सेञ्चुरी, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैंकको भने नाफा ६ देखि ३७ प्रतिशतसम्म घटेको छ । 

बैंकहरूको निक्षेप २१ प्रतिशतले बेढर ४२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी करिब २८ प्रतिशतले बढेर ३६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो । 

बैंकहरूको वितरणयोग्य नाफा भने ३५ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूले कुल वितरणयोग्य नाफा ४७ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यस्तो वितरणयोग्य नाफा ३४ अर्ब ९६ करोड थियो । बैंकहरूले वितरणयोग्य नाफाको आधारमा हिसाब गर्दा औसतमा १४ दशमलव ९० प्रतिशत प्रतिफल दिन सक्ने अवस्था छ । सबैभन्दा धेरै लाभांश क्षमता नबिल बैंकको देखिएको छ । बैंकले करिब ३० प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । नेपाल बैंक, एभरेष्ट बैंकको पनि लाभांश क्षमता २६ देखि २७ प्रतिशतको दरमा छ । सर्वसाधारणमा सेयर जारी नगरेको राष्ट्रिय वाणिज्य बैंकको भने ४४ प्रतिशत क्षमता छ । 

बैंकहरूको प्रतिसेयर आम्दानी पनि केही बढेको छ । औसतमा बैंकहरूको यस्तो दर अघिल्लो आवमा १९ दशमलव ६६ रहेकोमा गत आवमा २० प्रतिशत रहेको छ । बैंकहरूको सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५४ प्रतिशत छ । 

राष्ट्र बैंकको सहुलियतले नाफा बढ्यो : नरबहादुर थापा, पूर्वकार्यकारी निर्देशक, राष्ट्र बैंक

कोरोनाको कारण इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने बढेका छन् । बैंकहरूले यस्तो एउटा कारोबारमै २० देखि ५० रुपैयाँसम्म शुल्क लिन्छन् । यसले पनि आम्दानी बढाएको छ ।

अर्को आयातमा भएको वृद्धिले बैंकहरूले प्रतितपत्र खोल्ने क्रम पनि बढेको छ, जसमा बैंकहरूलाई कमिसन पनि आउँछ । कोरोनाकै कारण रेमिट्यान्स बैंकिङ प्रणालीबाटै बढी भित्रिएको छ ।

यसको कारोबारमा पनि बैंकहरूले कमिसन पाउँछन् । यसले पनि नाफा बढ्न सहयोग पुगेको छ । हुन त राष्ट्र बैंकले पछिल्लो समय सबै असल कर्जामा प्रावधान शून्य दशमलव ३ प्रतिशतले बढाएर १ दशमलव ३ प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको छ । यद्यपि सूक्ष्म निगरानीलगायतमा पर्ने कर्जाका लागि ५ प्रतिशतदेखि २५ प्रतिशत प्रावधान राख्नुपर्नेमा सहजता दिएको छ । 

सेयरको आम्दानीले टेवा दिएको छ : भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन

बैंकहरूको कुल सम्पत्ति २४ प्रतिशतले बढेको छ । कर्जा लगानी करिब २७ प्रतिशतले बढेको छ, तर नाफा २० प्रतिशतले मात्रै वृद्धि भएको छ ।

बैंकहरूले मुख्य आम्दानीका रूपमा रहने खुद ब्याज आम्दानी मात्रै २ प्रतिशतले बढेको छ । हामीले साहुले जस्तो कसेको भए २८ प्रतिशतले कर्जा लगानी बढाउँदा आम्दानी २ प्रतिशतले मात्रै बढ्थ्यो होला र ? वित्तीय विवरण हेर्ने हो भने बैंकहरूले समग्रमा (रिटर्न अन इक्विटीको आधारमा) १३ प्रतिशत कमाइ गरेका छन् ।

नाफामा पनि सेयर कारोबारबाट भएको आम्दानीले टेवा दिएको छ । केही रकम कम प्रावधान राख्नु परेकाले पनि निस्किएको छ । यी दुईलाई अलग्याएर हेर्ने हो भने नाफा गर्न सक्ने अवस्थामा बैंकहरू नरहेको देखिन्छ । 

See More On

सुझावित समाचार