भारतीय सहयोगमा सञ्चालित परियोजना कार्यान्वयन प्रक्रियालाई तीव्रता दिन नेपाल र भारत सहमत भएका छन् । नवौँ परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को काठमाडौंमा बसेको बैठकमा दुवै देशका अधिकारी सहमत भएका हुन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र परराष्ट्रसचिव भरतराज पौड्यालको सहअध्यक्षतामा बैठक सोमबार सम्पन्न भएको हो ।
बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरूका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।
भारतीय राजदूतावासले विज्ञप्ति जारी गरी आठौँ बैठकयता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरूको विस्तृत रूपमा समीक्षा भएको र दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै परियोजनाहरूको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएको जनाएको छ ।
कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरूबारे दुवै सहअध्यक्षले बैठकमा जानकारी गराएका थिए । ‘यसले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको शक्ति र प्रतिबद्घता र दुवै पक्षले एक–अर्कालाई सहयोग र सहजीकरण गर्न देखाएको तदारुकतालाई स्पष्ट रूपमा झल्काएको छ । बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरू, भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरू र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगन्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माणबारे चर्चा गरिएको थियो । परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पु¥याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरूमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए । यसको अलावा भारतले नेपाललाई उपलब्ध गराएको औषधि, चिकित्सकीय उपकरण, बेड, आइसियू, भेन्टिलेटर र खोपलगायतका कोभिड– १९ सँग सम्बन्धित सहकार्यकोे दुवै पक्षले सराहना गरेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।
अर्को बैठक दुवै पक्षलाई सहज हुने मितिमा आयोजना गर्ने सहमति पनि भएको छ ।