वीरगन्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाले छापा मार्दै विभिन्न कागजात बरामद गरेको छ । सोमबार मध्याह्न १२ बजेदेखि अस्पतालको फार्मेसीमा अख्तियारले छापा मारी आवश्यक कागजात बरामद गरेको हो ।
अस्पतालको फार्मेसीमा एक करोडभन्दा बढी हिनामिना भएको, औषधिको म्याद गुज्रेकोलगायतको सूचनाका आधारमा छापा मारिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए । अस्पतालमा फार्मेसी स्थापना भएदेखिको कागजपत्र, हिसाबकिताब, औषधिबारे जानकारी लिएर कागजात नियन्त्रणमा लिएको उनले बताए । अहिलेसम्म कति मूल्यको कुन औषधि खरिद–बिक्री भएको, हिसाबकिताब कहाँ राखिएको हो, कहाँबाट खरिद गरिएको हो लगायतका विषयमा बुझ्ने काम थालिएको सापकोटाले जानकारी दिए ।
अख्तियारको टोली अस्पतालको फार्मेसीमा छापा मारेर अपराह्न ५ बजे बाहिरिएको थियो । टोलीले फार्मेसीमा रहेका विभिन्न प्रकारको औषधि चेकजाँच गरेको, विभिन्न कागजात नियन्त्रणमा लिएको र फार्मेसीमा सिलबन्दी गरिएको सूचना अधिकारी सापकोटाले बताए । पछिल्लो समयमा अस्पतालमा आन्तरिक मतभेद चुलिँदै जाँदा अनियमितताका समाचार बाहिरिएको छ । अख्तियार टोलीले अस्पतालको फार्मेसीमा औषधि खरिद प्रक्रियामा भएको अनियमितताबारे मेडिकल सुपरिडेन्ट वीरेन्द्र प्रधानसँग सोधपुछ गरेको थियो ।