नेकपा माओवादी केन्द्रले अफगानिस्तानमा रहेका नेपालीलाई सहयोगका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अफगानिस्तानमा असहज परिस्थिति आएको भन्दै त्यहाँ रहेका नेपालीको उद्धार र सहयोगमा पहल लिन सरकारलाई आग्रह गरेको हो।
माओवादीले अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘अफगानिस्तानमा असहज परिस्थिति आएको छ। त्यहाँ रहेका सबै नेपालीको जानकारी लिन र आवश्यक सहयोग लिन सरकारले तत्काल पहल गरोस् भन्ने पार्टीले निर्णय गरेको छ’, श्रेष्ठले भने।