सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार कार्यमा संयोजन गर्नका लागि एक समिति गठन गरेको छ। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीको उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसिएमसीको सहसचिव तहको प्रतिनिधित्व हुने गरी समिति बनाइएको र समितिले आइतबारदेखि नै काम गर्ने बताए। ‘समितिको उद्देश्य के छ भने कदाचित हामीले कसैलाई हामी आफैँले इभाक्वेट गरेर लिएर आउनुपर्यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ पौड्यालले भने।
अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौैडेलले जानकारी दिए। नेपालीहरू अफगानिस्तानको काबुलबाहिर रहेको रिपोर्ट हालसम्म नपाएको उनले बताए। अफगानिस्तानमा औपचारिक क्षेत्रमा आबद्ध नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको पनि उनले बताएका छन्।
दूतावास तथा अफगानिस्तानस्थित नियोगहरूसँग सरकार सम्पर्कमा रहेको उनले बताए। मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउनका लागि सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुलर सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक–एकवटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने पनि सचिव पौड्यालले जानकारी दिएका छन्।