पाल्पामा आइतबार एकैदिन दुई सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा एन्टिजेन परीक्षणमा एक सय ९० जना र पिसिआर परीक्षणमा १० जना गरी दुई सय संक्रमित थपिएका हुन् । यो संख्या कोरोना संक्रमण सुरु भएयताकै बढी हो।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार १९ जनाको पिसिआर र सात सय ४६ जनाको एन्टिजेन गरी सात सय ६५ जनाको परीक्षण गरिएको थियो।
संक्रमितमध्ये महिला सबैभन्दा बढी एक सय नाैजना छन्। पाल्पामा अहिले पाँच सय आठजना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। जसमा तीन सय ६६ जनाको होम आइसोलेसन, २४ जना एचडियू र २९ जनाको आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ।
एकैदिन दुई सयजनामा कोरोना संक्रमण देखिए पनि यो औसतभन्दा बढी नभएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे बताउँछन्। उनले भने, ‘हिजोसम्मको दर पनि २१ देखि २३ प्रतिशत हो, अहिले करिब २६ प्रतिशत हो। जाँच नै बढी भएका कारण संक्रमितको संख्या धेरै देखिएको हो।’