कांग्रेस नेता लेखकको दाबी– चार दिनभित्रै सरकारले पूर्णता पाउँछ

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारूढ दल कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको एक महिना हुँदासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हाल कांग्रेसबाट प्रधानमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री छन् । 

मन्त्रिपरिषद् विस्तार नहुँदा सत्तारुढ दल जसपा सरकारमा जान पाएको छैन । गठबन्धनका एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताएका छन् । तर, सत्तारुढ दलका नेताहरूले एमालेको नेपाल पक्ष पनि सरकारमा सहभागी हुने बताउँदै आएको छ । सोही कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सत्तारुढ दलका नेताहरूले दाबी गर्दै आएका छन् । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा देउवानिकट नेता लेखकले सरकारमा नेपाल समूह आउँछ कि आउँदैन भन्ने यकिन नभएको बताए । सरकारलाई सही तवरले सञ्चालन गराउन गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याइसकेकाले सोहीअनुसार अगाडि बढ्ने उनले बताए । 

उनले भने, ‘साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने कुरा थियो, अहिलेसम्म विस्तार हुन सकेन, यसमा ढिलाइ भयो, यो कुरा म स्वीकार गर्छु । तर, अब ढिलाइ गर्नुहुँदैन । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ ।’ 

लेखकले कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा र जनमोर्चाको अहिलेको गठबन्धन लामो समयसम्म जाने पनि विश्वास दिलाए ।

सुझावित समाचार