२४ अंकले घटेको नेप्सेमा कारोबार रकममा नयाँ रेकर्ड

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

साताको पहिलो कारोबारका दिन २४ अंकले घटेको नेप्सेमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। यसअघि १९ अर्बसम्मको सेयर खरिद–बिक्री रकमलाई ब्रेक गर्दै आइतबार कारोबार रकमले नयाँ रेकर्ड बनाउन सफल भएको हो। गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको छ। मौद्रिक नीतिमा सेयर लगानीकर्ताहरूले व्यक्तिगत र संस्थाको हकबाट चार करोडदेखि १४ करोडसम्म मात्र सेयर लोन लिन सकिने सीमा तोकिदिएको छ। ठूला लगानीकर्ताहरूले भने यस सम्बन्धमा आपत्ति जनाएका छन्। नेप्सेमा त्यसकै प्रभाव परेको हुन सक्ने सेयर लगानीकर्ताहरू बताउँछन्। 

आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको तीन करोड  ५५ लाख कित्ता (इकाइ) सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार हुन पुगेको छ। पहिलो कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ। 

बैंकको सो दिन एक अर्ब ५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलिरी कम्पनीको ७९ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ। अपी पावर कम्पनीको ७० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ। अरुण भ्याली हाइड्रो पावर कम्पनीको ५७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।

आइबार नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर तीन हजार एक सय ५४ दशमलव ३४  बिन्दुमा पुगेको छ। त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि घटेर  करिब दुई अंकले ओरालो लाग्दै पाँच सय ८९ बिन्दुमा पुगेको छ। सो दिन कारोबारमा आउने १३ समूहको सूचकमा तीन समूहबाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेकाे छ। जलविद्युत्, फाइनान्स र  विकास बैंकका लगानीकर्ता निराश बन्न पुगेका छन्।

सो दिन घट्ने कम्पनीहरूमा एनआइबिएल प्रगति फन्ड, रिडी हाइड्रोपावर डेभलपमेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले नाफा गुमाएका छन् भने रसुवागढी जलविद्युत् हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर कम्पनीका लगानीकर्ता सो दिन निराश बनेका छन्।
 

३ कम्पनीकाे सेयर सर्किट मूल्यमा कारोबार
तीन कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। खानीखोला हाइड्रो  पावर, जीवन विकास लघुवित्त, युनियन लाइफ इस्योरेन्स कम्पनीको सेयर  सर्किट मूल्यमा कारोबार भएको छ। आएसिएफसी फाइनान्स ,मिर्मिरे फाइनान्स कम्पनीको सेयरमा लगानीकर्तार्का आकर्षण बढेको छ।

सुझावित समाचार