जलविद्युतकाे सेयरमा अस्वाभाविक चलखेल

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

विद्युत् नियमन आयोगको जिम्मेवारीमाथि प्रश्न    

वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका सेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय सेयर बजारमा जलविद्युत् कम्पनीका सेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ ।  नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ सेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारोबार हेर्ने हो भने कुल कारोबार रकमको ३१ प्रतिशत हिस्सा यस क्षेत्रको छ । 

त्यस दिन  १७ अर्ब ५० करोडको कुल कारोबार भएको थियो । त्यसमध्ये जलविद्युत् क्षेत्रको  पाँच अर्ब ५० करोडबराबरको सेय कारोबार भएको थियो । बिहीबार सबैभन्दा बढी न्यादी हाइड्रोको सेयर एक हजार ३४४ मा कारोबार भयो भने सबैभन्दा कम खानीखोलाको  ३८० मूल्यमा कारोबार भएको थियो ।  

जलविद्युत् कम्पनीको सेयमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिसेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको सेयरमा उछाल आएको, तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउने गरेको छ । पछिल्लो दुई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।    

हुन पनि बजारको कारोबार र सेयर मूल्यको अवस्था हेर्ने हो भने चिलिमे, बुटवल हाइड्रोपावरलगायत कम्पनीको सेयरमा त्यस्तो आकर्षक देखिएको छैन, तर अन्य कम्पनीको मूल्यमा अस्वाभाविक रूपमा बढेको देखिएको छ । पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्थाको आधार मानेरभन्दा पनि हल्लाको भरमा सेयर कारोबार भएको जानकार बताउँछन् ।

प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्यांकनविनै सेयरमा हुने चलखेलका विषयमा नियमन निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।     

नियमन प्रभावकारी किन भएन  

निरन्तर गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् नियमन आयोगका पदाधिकारीलाई मन्त्रालय बोलाएर सोबारे जानकारी लिएकी छिन् । उनले सर्वसाधारण लगानीकर्ता मर्कामा पर्न नहुने भन्दै त्यसबारे आफ्नो जिम्मेवारी निर्वाह गर्न आयोगलाई आग्रह गरेकी छिन् ।

जलविद्युत् कम्पनीमा अनावश्यक रूपमा चलखेल गरी अप्राकृतिक रूपमा सेयरको मूल्य बढाई सर्वसाधारण लगानीकर्तालाई जोखिममा पार्ने तथा वास्तविक प्रवर्द्धक ओझेलमा पर्ने स्थिति उत्पन्न नहुने वातावरण बनाउन उनले आग्रह गरेकी छिन्। मन्त्री भुसालले जलविद्युतको विकासमा जनताको लगानीको प्रतिफललाई सुनिश्चित गर्न तथा स्वस्थ पूँजीको निर्माण गरी सक्षम जलविद्युत् उत्पादन कम्पनीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

लकिङ खुलेपछि छाडा    

विद्युत् नियमन आयोग ऐन, २०६४ र नियमावली, २०७५ अनुसार जलविद्युत् डेभलपरले साधारण सेयर जारी भएको तीन वर्षपछि आफ्नो सेयर बिक्री गर्न पाउँछन् । तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले सेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा राइट सेयर र बोनस सेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा सेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको सर्वसाधारण लगानीकर्ताको बुझाइ छ।     

बजार प्रभावित गरे कारबाही    

बैंकको ऋणसमेत नियमित गर्न नसक्ने आयोजनाको सेयर निरन्तर ‘बुलिस’ हुने गरेको अवस्थाबारे विद्युत् नियमन आयोगले नियमन गर्दै आएको छ । जलविद्युत् कम्पनीका लगानीकर्ताले आपसी मिलेमतो गर्ने र आफैँ किन्ने तथा सोही समूहका व्यक्तिले अर्को ब्रोकरबाट खरिद गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्ने गरेको गुनासोबारे आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले कानुनअनुसार नियमन भएको दाबी गरे।

उनले विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले बजारको वास्तविकता बुझेर मात्र सेयर खरिद तथा बिक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रहसमेत गरेका छन् । रासस

See More On

सुझावित समाचार