खेलकुदलाई आर्थिक वृद्धिको चालक बनाउने चीनको योजना

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

सन् २००८ पछि चीनले ओलम्पिक खेलकुद प्रतियोगिताको शीर्ष स्थानका लागि अमेरिकालाई चुनौती दिइरहेको छ । आइतबार सम्पन्न टोकियो ओलम्पिकमा पनि चीन अमेरिकाभन्दा एउटा मात्रै कम स्वर्ण पदक (३८ वटा) सहित दोस्रो स्थानमा रह्यो । चीन अन्तिम दिनमा मात्रै दोस्रो स्थानमा झरेको हो । यसअघि चीन शीर्ष स्थानमै थियो ।

लगातार ओलम्पिक खेलकुदमा चीनले पदक तालिकाको शीर्ष स्थानमा अमेरिकालाई चुनौती दिएसँगै खेलकुदलाई आर्थिक वृद्धिको चालक बनाउने गरी चीनले बृहत्तर कदम उठाउन लागेको छ । सन् २०२२ मा बेइजिङमा हुने शीत ओलम्पिकको पृष्ठभूमिमा चीनले केही वर्षदेखि खेलकुदमा उलेख्य लगानी बढाइरहेको पनि छ । यसले चीनको खेल क्षेत्र थप सबल बनिरहेको छ । चीन सरकारले अहिले नयाँ नीति अंगीकार गर्दै सन् २०२५ सम्म देशको खेलकुद उद्योगलाई ५० खर्ब युआन (७७३ अर्ब डलर) को बनाउने लक्ष्य लिएको छ । 

जुन सन् २०१९ को तुलनामा ७० प्रतिशतले बढी हो । यति ठूलो आर्थिक क्रियाकलापले देशको आर्थिक वृद्धिमा नै योगदान गर्न सक्छ । विशेषतः खेलकुद क्षेत्रको वृद्धिले रोजगारी वृद्धि तथा लगानी आकर्षणमार्फत आर्थिक वृद्धिलाई टेवा पुर्याउँछ । चीनको स्पोर्टस् जुत्ता निर्माता तथा अन्य खेलकुद कम्पनीको सेयर यो साता उलेख्य बढ्यो । सरकारले देशको एकतिहाइ जनसंख्यालाई नियमित व्यायाम–अभ्यास (एक्सरसाईस)मा सहभागी गराउने घोषणापछि यो वृद्धि देखिएको थियो ।

यसका लागि चीन सरकारले देशको हरेक काउन्टी तथा समुदायमा जिम उपकरण पुर्याउने उदेश्य लिएको छ । यो खेलकुद योजनाअन्तर्गत करिब ३० लाखजनाले फिटनेस–ट्रेनरका रूपमा रोजगार पाउनेछन् । यो संख्या सन् २०१९ मा चीनको होटेल तथा क्याटरिङ क्षेत्रमा संलग्न जनशक्तिभन्दा बढी हो । 

यदि बेइजिङको लक्ष्य पूरा भयो भने खेलकुदमा हुने आर्थिक क्रियाकलापले चीनको कुल गार्हस्थ उत्पादनमा झन्डै ३.३ प्रतिशत हिस्सा ओगट्छ । जुन सन् २०१५ मा जम्मा २.५ प्रतिशत मात्र थियो । चाइना इन्टरनेसनल क्यापिटल कर्पको विश्लेषणअनुसार चीनको खेलकुद उद्योग अझै प्रारम्भिक चरणमा भए पनि यसले देशको अर्थतन्त्रमा ‘महत्वपूर्ण भरथेग’ गर्ने बाटो समाइसकेको छ । टोकियो ओलिम्पिकको तयारीका लागि समेत चीन सरकारले खेलकुद क्षेत्रमा उलेख्य खर्च वृद्धि गरेको थियो । यसैका लागि सन् २०१९ मै खेलकुद क्षेत्रमा १० अर्ब युआन खर्च गरिएको थियो । 

चीनको ओलम्पिक खेलकुद तालिम निगरानी गर्ने संस्थाले आफ्नो प्रशासनिक खर्च कटौती गरेर खेलकुद प्रतिस्पर्धामा २६ प्रतिशतले खर्च बढाएको थियो । सो वर्ष बाह्य खेलमा खर्च ५३ प्रतिशतले बढेको थियो । चीनले खेलकुद क्षेत्रमा बढाएको खर्चले टोकियोमा अहिले राम्रो नतिजा निकाल्न सघायो । टोकियोमा चिनियाँ खेलाडीहरू परम्परागत रूपमा भारत्तोलन, जिम्न्यास्टिक र डाइभिङमा मात्र होइन पुरुष सय मिटर दौड, ट्रिपल जम्प र पुरुष दुई सय मिटर पौडीमा समेत सफल देखिए । यी खेलमा चीनले विगतमा खासै राम्रो गर्न सकेको थिएन ।

See More On

सुझावित समाचार