धितोपत्र बजारमा गत साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कुल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिद–बिक्री भए । साताभर नै जलविद्युत् उपसमूहको सेयरमा लगानीकर्ताको आकर्षण देखियो ।
साताभर पाँच कारोबार दिन नै नेप्सेमा सुधार भई नै रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले सुधार भएको थियो । त्यस दिन नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुग्यो ।
कुल दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर उकालो लागेको छ भने सात उपसमूहको सेयर ओरालो लाग्यो ।
बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४०.३८, होटेल तथा पर्यटन ३९.९१, निर्जीवन बिमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बिमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको थियो ।
कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा रही ८१ करोड ९२ लाख २४ हजार पाँच सय ६० बराबरको कारोबार भयो । साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको सेयरमा उछाल देखियो । यस्तै कारोबार रकम १४ अर्बको हाराहारीमा रह्यो ।
त्यस दिन नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लियो ।
कुल दुई सय २५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको सेयरमा उछाल देखियो । सो दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु. ६७ करोड ४८ लाख ५५ हजार आठ सय ६० बराबरको कारोबार भयो ।
सोमबार आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो । आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्सुरेन्सको सेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
साताको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल देखियो भने बजार पुँजीकरण ४४ खर्ब १३ अर्बबराबर पुग्यो । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखियो । विकास बैंक, वित्त, निर्जीवन बिमा र जीवन बिमा उपसमूहको सेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुग्यो ।
त्यस दिन नेप्से ५१.८६ बिन्दुले बढेर तीन हजार एक सय ६१.४४ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुग्यो । कुल दुई सय २५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता सेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ मूल्यमा खरिद–बिक्री भयो । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजारबराबर पुग्यो ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको सेयर उकालो लाग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही ८९ करोड ५८ लाख ९३ हजार पाँच सय ३६ बराबरको कारोबार भयो । त्यस दिन १३ कम्पनीको सेयरमा सर्किट लाग्यो ।
साताको चौथो दिन बुधबार नेप्सेमा झिनो मात्रै सुधार भयो, तर कारोबार रकम १५ अर्ब ४५ करोडबराबर भयो । त्यस दिन नेप्से ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुग्यो ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुग्यो । कुल दुई सय ३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर रु. १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार सात सय ५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर उकालो लाग्यो भने आठ उपसमूहको सेयर मूल्यमा गिरावट आयो ।
सो दिन पनि कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही ६८ करोड ३० लाख ७१ हजार सात सय एकबराबरको कारोबार भयो । बुधबार ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो ।
साताको अन्तिम दिन नेप्सेमा कीर्तिमान कायम भयो । यस्तै बजार पुँजीकरण ४४ खर्ब ३७ अर्बबराबर पुग्यो । विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो । त्यस दिन नेप्से १६.४१ अंकले बढेर तीन हजार एक सय ७९ मा पुग्यो ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुग्यो । कुल दुई सय २५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ मूल्यमा खरिद–बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्यमा सुधार आउँदा ६ उपसमूहको सेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यस दिन माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही ६२ करोड ७९ लाख ९७ हजार आठ सयबराबरको कारोबार भयो । बिहीबार सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो । रासस