नेपाल–अस्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

नेपाल र अस्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंस्थित होटेल याक एन्ड यतीमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट ऊर्जा तथा जलस्रोतसचिव सागरकुमार राई र अस्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

नेपाल सरकारको जल तथा ऊर्जा आयोग र अस्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताए । उनले यसमा अन्य जेभिएस र पिआई संस्था पनि रहेको बताए । सचिव राईले चार वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रूपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबमा, चुरे दोहन रोक्नेलगायतका हिसाबमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताए । उनले  यो समझदारीपत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारको जल तथा ऊर्जा आयोग र अस्ट्रेलिया सरकारको सिसिरो भन्ने संस्थासँग मिलेर हामीले सम्पन्न गरेका हौँ, र यसमा अरू पनि जेभिएस र पिआई भन्ने संस्था पनि रहेको छ, यो चार वर्षपछि के–कसरी कमला नदीको पानीलाई व्यवस्थित रूपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबले, बाढी–पहिरो रोक्ने, चुरे संरक्षण गर्ने सबै कुराहरूले गर्दा कमला रिभर बेसिन स्टाटेजी प्लान तयार भएको छ, यो अत्यन्त महत्वपूर्ण छ, यसले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने, कमला रिभर बेसिनमा पानीलाई कसरी धेरैभन्दा धेरै रिचार्ज हुने, पानी सञ्चित हुने र पानीको मात्रा बढाउने विषयमा दिशा निर्देश गर्छ, त्यहाँ भएका जमिनमा धेरै सिँचाइ कसरी हुन्छ र त्यहाँ भएका स्थानीय जनताको आयस्रोत बढाउने भन्ने विषयमा काम गर्दछ ।’


जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अस्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताए । उनले  अस्ट्रेलियाले जल तथा उर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्ष यता निरन्तर सहयोग गरिरहेको स्मरण गरे । त्यसैगरी नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताए । 

सुझावित समाचार