कांग्रेस ‘हेडक्वार्टर’मा नेता–कार्यकर्ताको धर्ना, पार्टीकाे बैठक सभापतिका घरमा

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण
कांग्रेस ‘हेडक्वार्टर’मा नेता–कार्यकर्ताको धर्ना, पार्टीकाे बैठक सभापतिका घरमा

कांग्रेस केन्द्रीय कार्यालयमा अनशन बसेका नेता कार्यकर्ता

३४ दिन भयो सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना थालेको। क्रियाशील सदस्यताको विवाद नटुंगिएको विषयले पछिल्लो समय कांग्रेस पार्टी कार्यालय नेता–कार्यकर्ताको घेराबन्दीमा परेको छ।

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिनको माग सम्बोधन नहुँदा केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनुपरेको धर्नामा बसेका नेता तथा कार्यकर्ता बताउँछन्। नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादव सदस्यताको टुंगो नलाग्दा आफूहरू धर्नामा बसिरहन बाध्य भएको बताउँछन्। उनले न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनी दिए। 

३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता–कार्यकर्ताहरू पार्टीको विधि र विधानविपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा धर्ना जारी राख्न बाध्य हुनुपरेको बताँउछन्। जिल्ला कार्यसमिति रौतहटका कोषाध्यक्ष रामश्रीषप्रसाद साहले विधि र विधानविपरीत गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताए। 

त्यस्तै कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता–कार्यकर्ताहरूले पनि पार्टी केन्द्रले आफूहरूको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिए। कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको पनि क्रियाशील सदस्यत वितरणमा गरिएको अन्याय तत्काल सम्बोधन हुनुपर्ने माग छ। माग पूरा नभएसम्म धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने उनको भनाइ छ। उनी पार्टीको जारी केन्द्रीय कार्यसमितिले आफ्नो माग सम्बोधन गर्ने आशा व्यक्त गर्छन्। 

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादकै कारण तल्ला तहको अधिवेशनसमेत रोकिएको छ। साउन १२ बाट तोकिएको अधिवेशनबारे कांग्रेसले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन। क्रियाशील सदस्यताको विवाद नटुंगिँदा समग्र महाधिवेशन नै अन्योलमा परेको छ। तल्लो तहको अधिवेशन रोकिएपछि भदौ १६ देखि १९ सम्मका लागि तोकिएको केन्द्रीय महाधिवेशन प्रभावित बनेको छ। महाधिवेशनको नयाँ कार्यतालिकाबारे जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिने कांग्रेसले जनाएको छ। 

धर्ना सुरु भएयता कांग्रेसका पदाधिकारी बैठक र केन्द्रीय कार्यसमिति बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा हुँदै आएको छ। जारी केन्द्रीय समिति बैठकसमेत सुरुमा पार्टी कार्यालय सानेपामा तय गरिएको थियो। तर, धर्ना र अनशनकै कारण अन्तिम समयमा आएर सभापति देउवाको निवास बुढानीलकण्ठमा गरिएको थियो।
 

सुझावित समाचार