आठ–आठ महिना सरकार चलाउने सहमति कुर्सीमोह होइन, गठबन्धनको बलियो विश्वास हो

अन्तर्वार्ता

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण
आठ–आठ महिना सरकार चलाउने सहमति कुर्सीमोह होइन, गठबन्धनको बलियो विश्वास हो

नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी

नयाँ सरकारका प्राथमिकता के–के हुन् ?
प्रदेशभरिका जनतालाई कारोनाविरुद्धको खोपको सुनिश्चितता हाम्रो पहिलो प्राथमिकता हो । दोस्रो, गौरवका आयोजना समयमै पूरा गर्नेतर्फ हाम्रो ध्यान हुनेछ । तेस्रो, सुन्दर राजधानीको परिकल्पनालाई साकार बनाइनेछ । चौथो, संघीयतालाई प्रभावकारी बनाउन संघीय सरकार र स्थानीय तहबीच पुलको काम गर्नेछौँ । 

तर, आठ–आठ महिना सरकार सञ्चालन गर्ने सहमतिले यहाँहरूलाई स्थायित्व र विकासभन्दा कुर्सी प्यारो छ भन्ने पो देखायो त !
हाम्रो ध्यान स्थायित्व र विकासमै छ । पूरा समय यही गठबन्धनको सरकार रहने हो । खालि कार्यविभाजनमा केही हेरफेर गर्ने सहमति मात्र हो । हामीले व्यक्तिगत स्वार्थका लागि यो गठबन्धन बनाएको होइन । विगतको सरकार प्रतिगमनको मतियार बनेपछि यो गठबन्धन तयार भएको हो । आन्दोलनबाट बनेको गठबन्धन हो । हामी यो गठबन्धनलाई संस्कारयुक्त बनाउन चाहन्छौँ, स्थायित्व दिन चाहन्छौँ । त्यसैले कुर्सीमोह भन्न मिल्दैन । 

तपाईंले यसो भने पनि पछिल्ला केही महिनायता सांसदहरूको ओहोरदोहोर चलिरह्यो । सरकार गठनको पूर्वसन्ध्यामै पनि त्यो देखियो । यसलाई कसरी संस्कार भन्ने?
केही स्वतन्त्र साथीहरूको दौडधुपका कारण त्यस्तो देखियो । अघिल्लो सरकारले जसरी पनि कुर्सीमा टाँसिरहन गरेका गलत क्रियाकलापका कारण त्यस्तो अवस्था बन्यो । केही साथीहरू लोभिनुभयो, प्रलोभनमा पर्नुभयो । ८७ सदस्यीय प्रदेश सभामा हाल ८० सदस्य मात्र रहनुले पनि हिजो कमजोरी भएको थियो प्रस्ट्याउँछ । तर, अब त्यस्तो हुँदैन । हिजो जो उता लाग्नुभएको थियो, अहिले यतै हुनुहुन्छ । अब गठबन्धन बिगार्ने पक्षमा कोही साथी हुनुहुन्न । 

नयाँ सरकारबाट जनताले के आशा गर्ने ?
हामी जनउत्तरदायी सरकार हौँ भन्ने सन्देश हामीले पहिलो बैठकबाटै दिएका छौँ । सरकारको पहिलो बैठकले प्रदेशभरिका जनतालाई कोरोना खोपको सुनिश्चितता गर्ने निर्णय गरेको छ । विकास निर्माण हुँदै गर्छ, तर जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यसैगरी, मुटु, मिर्गौला र क्यान्सर रोगीहरूलाई पहिले एक लाख रुपैयाँ दिँदै आएकोमा दुई लाख थपेर तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेका छौँ । अस्पताल देख्न नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था कसैका पनि नआओस् भन्नेमा गम्भीर छौँ र त्यसका लागि उचित कार्ययोजनासहित अघि बढ्दै छौँ । 

प्रदेशको राजधानी कहिलेसम्म सार्ने सोच्नुभएको छ ?
ठ्याक्कै यही मितिमा भन्ने सोचिएको छैन । संरचना निर्माणलाई हामी युद्धस्तरमा अगाडि बढाउँछौँ । सुन्दर राजधानीको परिकल्पना साकार हुने गरी संरचना निर्माण भएपछि हामी राजधानी सार्छौँ ।

सुझावित समाचार