कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प : नेता केसी

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीले महाधिवेशन नगरेकै कारण वैधता गुमाउने कुरा राम्रो नभएको उनको ठहर छ ।
 
महाधिवेशनबारे छलफल गर्न बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक जारी छ । नेताहरूबीच पार्टीको वैधानिकता कसरी बचाउने भन्नेबारेमा घनीभूत बहस भइरहेका वेला केसीले भने विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । 

‘पार्टीको वैधानिकता कसरी बचाउने भन्ने दायित्व पार्टीका सभापति र पदाधिकारीकै हो । तर, म एउटा जिम्मेवार व्यक्ति भएकाले म पनि पार्टीको संवैधानिकता जोगाउने विषयमा सजग छु, म जुनसुकै विकल्पमाथि छलफल गर्न तयार छु,’ नेता केसीले नयाँ पत्रिकासँग भने, ‘तर, अहिलेको परिस्थितिअनुकूल हुने विशेष महाधिवेशन नै हो । यसमा सबैलाई गम्भीर बन्न म अपिल गर्दछु ।’

पार्टीले अहिले कुनै पनि वहाना नगरी वैधानिकतामाथि उठेको प्रश्नको हल गर्नुपर्ने उनको भनाइ छ । केसीले तीन महिनाअघि नै केन्द्रीय समितिको बैठकमा लिखित रूपमा विशेष अधिवेशनको प्रस्ताव अघि सारेका थिए । 

‘विश्व स्वास्थ्य संगठनले पाँचौँ लहरसम्म कोभिडको संक्रमण फैलिने भनेको छ, अहिले तेस्राे लहर सुरु भएको संकेत छ, त्यसैले पनि मैले अहिले नियमित महाधिवेशन सम्भव देखेको छैन, फेरि अहिले पार्टीको वैधता जोगाउने मूल कुरा हो,’ नेता केसीले भने ।

सुझावित समाचार