नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको मागमाथि असन्तुष्टि जनाएका छन्। ललितपुरमा बसेको सभापतिहरूको भेलाले इतर पक्षले उठाएको विशेष महाधिवेशनको मागमाथि असन्तुष्टि जनाएका हुन्।
‘आज आएर शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद हो। आजको आवश्यकता महाधिवेशन हो। विशेष महाधिवेशन स्वीकार्य छैन,’ भेलापछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
कांग्रेस ललितपुर जिल्ला कार्यसमिति सभापति मदनबहादुर अमात्यको सभापतित्वमा दुई दिनसम्म चलेको बैठकले यस्तो निर्णय गरेको हो। भौतिक र भर्चुअल माध्यमबाट बुधबार र बिहीबार चलेका बैठकले संविधानसँग नबाझिने गरी महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको हो।
‘कारोनाको महामारी, सबैमा खोप नपुगेको अवस्था र केही आन्तरिक प्राविधिक कारणले महाधिवेशन समयमै नहुने हो कि भन्ने शंका बढ्नु स्वाभाविकै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आजको केन्द्रीय समितिको बैठक सहमति, लोकतान्त्रिक विधि, कानुन र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित होस् भन्ने अनुरोध गर्न चाहन्छौँ।’
भेलाले सभापतिमार्फत केन्द्रीय सदस्यहरूलाई ध्यानाकर्षणसहितको आठबुँदे माग प्रस्तुत गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। भेलाले क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाएको क्रियाशील फाइलबाहेक विवादमा आएका बारा, सप्तरीलगायतका जिल्लाको फाइल मात्र खोली विधानसम्मत निर्णय गर्न माग गरेको छ।
यसअघि बसेको इतरपक्षीय जिल्ला सभापतिहरूको भेलाले सम्भव भए महाधिवेशन, नभए भदौभित्र विशेष महाधिवेशन गर्न माग गरेकाे थियाे।