प्रशासनले अग्रिम सूचना जारी गर्दै आज राति ८ बजेदेखि बिहान ५ बजेसम्म उपत्यकाभित्र सवारी गुडाउन रोक लगाइसकेको छ। प्रशासनको निर्देशनअनुसार सर्वसाधारण ८ बजेअगावै गन्तव्यमा पुगिसक्नुपर्नेछ। पैदलयात्रुको हकमा भने यो नियम लागू गरिएको छैन। गाडीमा यात्रा गर्नेलाई मात्रै यस्तो नियम लागू गरिएको हो।
तर, प्रशासनले कोरोना संक्रमणलाई लक्षित गरेर लागू गरेको यो नियमको खासै अर्थ भने देखिँदैन। दिनभरि हुने भिडभाडलाई रोक्न नखोज्ने, तर सहर आफैँ शान्त भइसक्ने समयमा कडाइ गर्नु जायज नहुने यातायातकर्मीको भनाइ छ। यातायातकर्मी प्रेमबहादुर थापाले प्रशासनको यस्तो नियमले कोरोना संक्रमण नघट्ने बताए। उनले भने, ‘अहिले ट्राफिक प्रहरी र जिल्ला प्रशासनले गरेका काम त्यति प्रभावकारी छैनन्, सडकमा ज्यादै भिड हुन थालेको छ, तर त्यसलाई रोक्नुको साटो सुनसान हुने समयलाई लक्षित गरेर नियम लागू गर्नु राम्रो भएन।’
बिहान–बेलुकी पिकआवरमा उपत्यकाका सडकमा भिडभाड बढ्न थालेको छ। गल्लीगल्ली र चोकचोकमा मानिसको चाप छ। सरकारी कार्यालयमा सेवा लिन आउनेहरूको भिड उस्तै देखिन्छ। सहरका सपिङ मल र कफी सपहरू मजैले चलिरहेकै छन्। यो नियमले यी सबै क्षेत्रमा हुने भिडभाडलाई लक्षित नगरेको देखिन्छ। जुन समयमा अति भिडभाड हुन्छ त्यसलाई नरोकी ८ बजेपछि मात्रै निषेधाज्ञालाई कडाइ गर्दा त्यसको कुनै अर्थ नरहेको कोटेश्वरका घनश्याम अधिकारीले बताए। ‘राति ८ बजे अझपछि कडाइ गर्नुको कुनै अर्थ छैन, बिहान–बेलुकी कार्यालय समयमा सडकको दृश्य देख्दा कोरोना संक्रमणभन्दा अघिकै उपत्यकाको झल्को आउँछ, कोरोनाकै कारण ८ बजेपछि कडाइ गरिएको हो भने दिउँसोको भिडलाई पनि कडाइ गर्न सक्नुपर्छ।’
उपत्यकाका होटेल तथा रेस्टुरेन्टहरूमा अनावश्यक भिड देखिन थालेपछि त्यसैलाई लक्षित गरी यस्तो नियम ल्याइएको प्रशासनको भनाइ छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले होटेल, सडक र रेस्टुरेन्टमा हुने भिडलाई लक्षित गरी यस्तो नियम जारी गरिएको जानकारी दिए। ‘यस्तो नियम लागू गर्नुको कारण होटेल तथा रेस्टुरेन्ट र सडकको भिड कम गर्नु हो,’ उनले भने, ‘दिउँसोको भिड कम गर्ने सन्दर्भमा पनि हामीले छलफल गर्दै छौँ ।’