प्रहरीको प्रश्नपत्र किनबेचमा १० हजार ‘एड्भान्स’

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

परीक्षा समितिकै प्रहरीको पनि संलग्नता पुष्टि

शान्ति मिसनमा छनोटसम्बन्धी प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र चोरी र गोप्य रूपमा वितरण गर्ने कार्यमा आर्थिक लेनदेन पुष्टि भएको छ । यसरी प्रश्नपत्र किनबेचमा तीन प्रहरीको संलग्नता देखिएको र उनीहरूलाई नोकरीबाट हटाउने प्रक्रिया प्रहरी प्रधान कार्यालयले थालेको छ ।

युएन शाखामै कार्यरत सइ जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको हो । डिआइजी वसन्तकुमार लामा नेतृत्वको छानबिन समितिले उनीहरूलाई मुख्य दोषी देखाएको छ । 

हवल्दार शाहको निर्देशनमा कार्यालय सहयोगी बमले एसपीको घर्राबाट प्रश्नपत्र चोरी गरी फोटोकपी गरेका थिए । त्यसबापत बमले हवल्दार शाहसँग १० हजार रुपैयाँ लिएको र थप रकम दिने आश्वासन दिएका थिए । साइबर ब्युरोमा कार्यरत हवल्दार शाह परीक्षार्थी थिए भने उनले अन्य व्यक्तिलाई प्रश्नपत्र दिलाएका थिए । परीक्षामा पास भएपछि थप रकम उपलब्ध गराउने आश्वासन आफूलाई शाहले दिएको बयान बमले दिएका छन् । 

त्यस्तै, शाहले नै युएन शाखामै कार्यरत सइ जनक थापालाई रकम दिएका थिए । थापा परीक्षा समितिमा समेत थिए । ‘थापालाई पहिलेदेखि नै शाहले प्रश्नपत्र चोर्ने गरेको जानकारी देखिन्छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘परीक्षा समितिकै व्यक्तिको यो हदको मिलेमतो देखिएपछि उनलाई पनि जागिरबाटै हटाउन सिफारिस गरेका हौँ ।’ सइ थापाले सइ केशव कार्की र असइ अशोक कार्कीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए । उनीहरू दुवैजनालाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । 

 तीन सिनियर अधिकृत मुछिए 
चोरिएको प्रश्नपत्रका आधारमा तीन सिनियर अधिकृतले परीक्षा दिएको खुलेको छ । डिएसपीहरू रूपेश खड्का र सुगन्ध श्रेष्ठ तथा इन्स्पेक्टरहरू दिलीप क्षेत्रीको संलग्नता पुष्टि भएको हो । तीनैजनालाई हवल्दार शाहले नै प्रश्नपत्र दिएका थिए । यसमा मुछिएका अन्य केदार तिमल्सिना र सुनील भण्डारीलाई पनि शाहले नै उपलब्ध गराएको छानबिनमा पुष्टि भएको छ ।

जवान सुनिता नेपाललाई भने सइ तिमल्सिनाले उपलब्ध गराएका थिए । उनीहरू सबैलाई विभागीय कारबाहीको सिफारिस भएको छ । प्रहरी जवान नेपालले एक महिला इन्स्पेक्टरलाई प्रश्नपत्र उपलब्ध गराएकी थिइन् । ती इन्स्पेक्टरले युएन शाखामा कार्यरत कर्मचारीलाई जानकारी गराएपछि यो प्रकरणमा छानबिन सुरु भएको थियो । 

युएन शाखा र परीक्षा समितिको पनि लापरबाही 
प्रश्नपत्र बाहिरिनुमा परीक्षा समितिका केही अधिकारी तथा युएन शाखाको पनि लापरबाही देखिएको समितिले औँल्याएको छ । युएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणालाई समेत कारबाहीको सिफारिस भएको छ । उनकै घर्राबाट प्रश्नपत्र कार्यालय सहयोगी बमले चोरेका थिए । घर्राको साँचो लुकाएर चोरी भएको थियो । एसपी राणाले आवश्यक सावधानी नअपनाउँदा प्रश्नपत्र चोरी भएको निष्कर्ष निकालिएको छ । 

त्यस्तै, परीक्षा तयारी तथा प्रश्नपत्र निर्माण समितिमा रहेका एसपी वेद विष्ट र इन्स्पेक्टर ईश्वरी भण्डारीलाई पनि नैतिक रूपमा जिम्मेवार ठहर गरी कारबाहीको सिफारिस भएको छ ।

गत १६ र १७ साउनमा मिसनको छनोटका लागि प्रि–स्याट परीक्षा सञ्चालन भएको थियो । दुवै दिनको प्रश्नपत्र चोरी भएको पुष्टि भएपछि परीक्षा रद्द भएको छ । १२ साउनमा कार्यालय सहयोगी बमले प्रश्नपत्र चोरी गरेका थिए । छानबिन समितिको सिफारिसका आधारमा दोषी प्रहरीलाई कारबाही गरी नयाँ परीक्षा सञ्चालन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

प्रश्नपत्र चोरी हुनुको प्रमुख कारण एउटै शाखामा लामो समय एउटै प्रहरीलाई राख्नुभएको समितिले औँल्याएको छ । घटनाका योजनाकार रहेका हवल्दार शाह आठ वर्षसम्म सो शाखामा बसेका थिए । चार महिनाअघि मात्र उनलाई त्यहाँबाट हटाइएको थियो । उनले विगतमा पनि यसैगरी प्रश्नपत्र चोरेर बिक्री गरेको आशंका गरिएको छ । यसपटक पहिलेदेखि नै एसपीको घर्राको साँचो लुकाउन लगाएर उनले प्रश्नपत्र चोरेर फोटोकपी गर्न लगाएका थिए । त्यस्तै, प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनको क्रममा सुरक्षा बलियो हुन नसकेकाले त्यसमा सुधार गर्नसमेत सिफारिस भएको छ । साथै, परीक्षा दिने प्रहरीलाई युएन शाखामा राख्न नहुने सिफारिस पनि समितिको छ । 

सुझावित समाचार