दाहाल यज्ञनिधिको स्मृतिमा शैक्षिक सामग्री सहयोग

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि स्मृति दिवसको अवसरमा दुर्गमका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । दाहाल यज्ञनिधिको तेस्रो स्मृति दिवसको अवसरमा हुम्लाका १५ जना विपन्न, न्यून आयस्रोत भएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

हुम्ला सदरमुकाम सिमकोटस्थ्ति कैलाश माध्यमिक विद्यालय डाडाँफायाका १५ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । बालबालिकालाई सिमकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्षको रोहबरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको यज्ञनिधि स्मृति समारोह समितिका सहजकर्ता धर्मानन्द लामाले जानकारी दिए । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, उपाध्यक्ष बलि रावत, कैलाश माध्यमिक विद्यालयका प्रअ मेजबहादुर बुढालगायतले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । 

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिले रेडियो नेपालमा चलाएका कार्यक्रमको झल्को अहिलेसम्म कानमै गुञ्जिरहेको कैलाश माध्यमिक विद्यालय डाँडाफायाका प्रधानाध्यापक मेजबहादुर बुढाले बताए । 

कार्यक्रममा प्रधानाध्यापक बुढाले साहित्यकार दाहालका शब्द, स्वर उनका रचना अझै पनि मनमस्तिष्कमा रहेको बताए । यस्तै सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावतले कोही व्यक्ति मृत्युपछि पनि सदा सम्झिनलायक हुने बताए । त्यसमध्ये दाहाल यज्ञनीधि पनि एक भएको उनको भनाइ थियो । 

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले दाहाल यज्ञनिधि स्मृतिको अवसरमा दुर्गमका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा उनकी धर्मपत्नी सुधा दाहाललाई विशेष धन्यवाद दिए । 

सुझावित समाचार