पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले  पाख्रीबास नगरपालिका र अमरगढी नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच महानगरले प्रदेश नम्बर– १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट वृषबहादुर राईले हस्ताक्षर गरेका थिए। 
  
सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार यसअघि महानगरले कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरेको थियो। असल अभ्यास र अनुभवको आदान–प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको अभियान अघि बढाएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

‘मुलुकभित्रकै स्थानीय तह–स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापनाले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतुले यस्ता सम्बन्ध स्थापना गरेको उनको भनाइ छ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्थाबमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको महानगरपालिकाको भनाइ छ।

समझदारीपत्रमा हस्ताक्षरसँगै काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत पाख्रीबास नगरपालिकाको सुन्तलेडाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न एक करोड ५० लाख सहयोग सम्झौता गरेको छ। त्यस्तै, अमरगढी नगरपालिकाको वडा नम्बर– २ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि एक करोड ५० लाख सहयोग गरेको  महानगरले जानकारी दिएको छ ।

सुझावित समाचार