पिएसजीमा मेसीलाई प्रतिसाता दश लाख पाउन्ड पारिश्रमिक

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

अर्जेन्टिनी कप्तान लियोनल मेसीले अब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट प्रतिसाता दश लाख पाउन्ड पारिश्रमिक बुझ्ने भएका छन् । यद्यपि, मेसी र पिएसजीबीचको सम्झौतापत्रमा हस्ताक्षर भएको छैन । यस्तै मेसी पिएसजीमा दुई वर्ष रहने सम्झौतापत्रमा उल्लेख छ ।

आइतबार मात्रै मेसीले दुई दशकपछि बार्सिलोना छाड्ने घोषणा गरेका थिए । आफ्नो माग पूरा नगर्दा अर्जेन्टिनी खेलाडी मेसीले बार्सिलोना छाडेका हुन् । बार्सिलोनामा रहनका लागि मेसीले तबल आधा बनाउने प्रस्तावसमेत राखेका थिए । तर, बार्सिलोनाले त्यो माग पूरा गर्न सकेन । गत आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै मेसीले बार्सिलोना परित्याग गरेको र करिअरमा नयाँ अध्याय सुरु गर्न लागेको घोषणा गरेका थिए ।

६ पटकका बालोन डिअर विजेता मेसीलाई इंग्लिस क्लबले पनि तान्ने कोसिस गरेका थिए । तर, कतारी धनाढ्यको लगानीमा रहेको पिएसजीले मेसीसँग सम्झौता गर्न सफल भयो । पिएसजीसँग आधिकारिक रूपमा सम्झौता गर्न मंगलबारै मेसी बार्सिलोनाबाट पेरिस पुगेका छन् । निकै कडा सुरक्षा व्यवस्थाबीच मेसी पिएसजीमा पुग्दा सयौँ समर्थकले स्वागत गरेका छन् । मेसीले बाल्कोनीबाट पेरिस लेखिएको टिसर्ट लगाउँदै समर्थकलाई धन्यवाद दिएका थिए ।

मेसी र पिएसजीबीच बुधबार आधिकारिक रूपमा सम्झौता हुनेछ । पिएसजीको अफिसियल ट्विटरमार्फत भने मेसीलाई पेरिसमा ल्याउन सफल भएको सोमबार राति नै जानकारी दिइएको थियो । ‘मेसीले राखेका प्रस्ताव हामीले स्वीकार गरेका छौँ, अब आइफेल टावरअगाडि मेसी सार्वजनिक हुनेछन्, पिएसजीमा नेमार र केलियन एम्बाप्पेसँगै मेसीको आक्रामक शक्ति देख्न पाइनेछ,’ पिएसजीले जनाएको छ ।

बिबिसीले पनि मेसी पिएसजीका खेलाडीका रूपमा पेरिस पुगेको जनाएको छ । ‘यो सत्य हो, लियोनल मेसी अब पेरिसका खेलाडी बनिसकेका छन्,’ बिबिसीका पत्रकार वालागुईलाई उद्धृत गर्दै लेखेको छ, ‘मेसी पेरिसमा आउने भएपछि रंगशालामा सुरक्षा गस्ती बढाइएको छ ।’ गत आइतबार नै मेसीका वकिलले पिएसजीसँगको सम्झौता सम्बन्धमा सबै डकुमेन्ट तयार पारेका थिए । मेसी र पिएसजीबीचको सम्झौताको मुख्य आकर्षक पक्ष नै पारिश्रमिक र वार्षिक रूपमा पाउने बोनस हो । सामान्य रूपमा मेसीले पिएसजीबाट ६३ मिलियन पाउन्ड पाउनेछन् ।

फ्रान्सको नियमअनुसार विदेशी खेलाडीले ४५ प्रतिशत ट्याक्स बुझाउनुपर्छ । प्रतिसाता दश लाख पाउन्ड थाप्ने मेसीले नियमअनुसार ४५ प्रतिशत नै कर बुझाउन पर्छ । सबै करपछि मेसीले प्रतिसाता पाँच लाख ५० हजार पाउन्ड पाउनेछन् । दुई पक्षबीच सम्झौतापछि पिएसजीमा आबद्ध विदेशी खेलाडीमध्ये मेसी धेरै कर बुझाउनेमा परेका छन् । मेसीका बुबा एवं एजेन्ट जर्ज पनि मंगलबार पिएसजी पुगेका छन् । उनले आफ्ना छोरा मेसी र पिएसजीसँगको सबै सम्झौता पूरा भइसकेको जानकारी दिए ।

नाउ क्याम्पबाट मेसीको पोस्टर हट्यो 
पिएसजीसँग अनुबन्ध भएसँगै बार्सिलोनाले आफ्नो घरेलु रंगशाला नाउ क्याम्पमा रहेको मेसीको पोस्टर हटाएको छ । रंगशाला प्रवेश गर्ने गेटअगाडि नै मेसीसँगै बार्सिलोनाका स्टार खेलाडीका पोस्टर राखिएको थियो । बार्सिलोनाले मंगलबार नै मेसीको तस्बिर हटाउन निर्देशन दिएको हो । सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका मेसीले नाउ क्याम्पमा ३४ उपाधि जितेका छन् । १७ सिजन बार्सिलोनामा रहँदा उनले दशपटक स्पेनिस ला लिगा र कोपा डेल रे सातपटक उचालेका छन् । यसैगरी उनले युईएफए सुपर कप तथा क्लब विश्वकप समान तीनपटक हात पारेका छन् ।

नेमार र मेसी फेरि सँगै
विश्व फुटबलमा नेमार र मेसी असाध्यै मिल्ने साथीमा पर्छन् । सन् २०१७ मा नेमार कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध हुँदा मेसीले क्लबको आलोचना गरेका थिए । क्लबको व्यवस्थापनकै कमजोरीका कारण बार्सिलोनाले एक स्टार खेलाडी गुमाएको प्रतिक्रिया मेसीले दिएका थिए । नेमारलाई बार्सिलोनामा फर्काउन मेसीले धेरै प्रयास गरे । तर, उनी सफल भएनन् ।

अर्कोतिर नेमारले कुनै दिन मेसीसँगै फुटबल खेल्ने सपना रहेको वेलावेला बताइरहन्थे । चार वर्षपछि मेसी र नेमार एकै क्लबबाट खेल्न अवसर जुरेको छ । मेसी पिएसजीसँग सम्झौतानजिक पुगेको थाहा पाउँदा नेमारले सामाजिक सञ्जालमा ‘फेरि सँगै भयौँ’ लेखेका छन् । 

पिएसजीमा अहिले नेमार सबैभन्दा महँगा खेलाडीमा पर्छन् । मेसी पिएसजीमा आउँदा दश नम्बरको जर्सीसमेत दिने नेमारले घोषणा गरिसकेका छन् । पिएसजीमा नेमार दश नम्बरको जर्सीबाट खेल्छन् । सम्झौताअनुसार नेमारले भन्दा मेसीले प्रतिसाता बढी पारिश्रमिक पाउनेछन् ।

See More On

सुझावित समाचार