देउता चढेको भन्दै सुत्केरी श्रीमतीलाई तातोपानी खन्याई अगुल्टो झोसेर यातना

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण
देउता चढेको भन्दै सुत्केरी श्रीमतीलाई तातोपानी खन्याई अगुल्टो झोसेर यातना

श्रीमान् दीपक नेपाली (दायाँ)को यातनाबाट घाइते हस्तना दमाई दैलेख अस्पतालमा उपचार गराउँदै

दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका– ५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरीपत्नी हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् ।

चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । ‘आफूमा देउता चढेको भन्दै श्रीमान्ले ढाड र अनुहारमा अगुल्टो झोस्ने र तातोपानी खन्याउने गर्न थालेपछि गुहार माग्दै भागेँ,’ उनले भनिन् । घाइते उनलाई छिमेकीले उपचारका लागि स्थानीय मेडिकलमा पुर्याएका थिए । घटनाबारे थाहा पाएपछि डाँडीमाडी चौकीबाट पुगेका प्रहरीले थप उपचारका लागि दैलेख अस्पताल पुर्याएका हुन् । 

हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उपचार यहीँ सम्भव छ,’ डा. थापाले भने ।

श्रीमतीलाई घाइते बनाएर फरार भएका दीपकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालत दैलेखबाट १० दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । हस्तनाकी आमा पाना दमाईंले दीपकविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिएकी छिन् । पाँच वर्षअघि विवाह गरेका उनीहरूका दुई सन्तान छन् ।
 

See More On

सुझावित समाचार