नाकानजिक हजारजना अट्ने क्षमताको होल्डिङ सेन्टर निर्माणको काम तीव्र

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिममा नेपाल–भारत जोड्ने प्रमुख नाका गौरीफन्टानजिक धनगढीको बडहरामा होल्डिङ सेन्टर निर्माणले गति लिएको छ । होल्डिङ सेन्टर निर्माणको काममा अहिले दैनिक दुई सय २० जना मजदुर खटिएका छन् । मौसमले साथ दिएमा भदौभित्रै निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । 

कैलालीको तेघरीस्थित भवानी दल गणमातहत रहेर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणको काम गरिरहेको हो । हजारजना अट्ने क्षमताको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक रहने निर्माण कम्पनीका इन्जिनियर गोविन्द काफ्लेले बताए ।  तीमध्ये ४४ वटा ब्लकको जग हाल्ने काम सकिएको उनले जानकारी दिए । ‘३५ प्रतिशतभन्दा बढी काम सकिएको छ । वर्षा भएन भने १०–१२ दिनमा जग हाल्नेदेखि फाउन्डेसनको सबै काम सकिन्छ,’ काफ्लेले भने, ‘मुख्य काम जग हाल्ने नै हो, त्यसपछि वर्षामा पनि काममा धेरै असर नहोला ।’ पानी पर्दा भने जगको काम गर्न अलि समस्या हुने उनले बताए । 

५९ ब्लकमध्ये २० वटा ब्लकमा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा ब्लकमा भान्सा रहने निर्माण कम्पनीले जनाएको छ । भवनमा जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छाना लगाइने इन्जिनियर काफ्लेले बताए । प्रत्येक शय्यामा अक्सिजन आपूर्तिका लागि उपकरण जडान गर्न सकिने डिजाइनमा होल्डिङ सेन्टर निर्माण भइरहेको उनले जानकारी दिए । 

कोरोना संक्रमण फैलिएको अवस्थामा भारतबाट फर्कनेहरूलाई राख्नका लागि नाकाबाट करिब दुई किलोमिटरको दूरीमा सामुदायिक वन क्षेत्रभित्र होल्डिङ सेन्टर निर्माण भइरहेको हो । संघीय सरकारको २८ करोड ८१ लाख १२ हजार तीन सय १७ रुपैयाँ लागतमा गत ३ असारमा होल्डिङ सेन्टर निर्माणको सम्झौता भएको थियो । दुई महिनाभित्रै काम सक्ने सम्झौता छ । निरन्तर वर्षा भएर अहिलेकै गतिमा काम गर्न नपाएमा भने निर्धारित अवधिमा काम सक्न समस्या हुने निर्माण कम्पनीले बताएको छ ।

हनुमान कन्स्ट्रक्सनका संयोजक यज्ञपुरुष न्यौपानेले वर्षाले काम गर्न नपाउँदा निर्धारित अवधिमै नभए पनि भदौ मसान्तभित्र काम सम्पन्न हुने दाबी गरे । पानी पर्दा जग हाल्ने काम प्रभावित हुने गरेको उनले बताए । मुख्य सडकदेखि होल्डिङ सेन्टरमा जाने बाटो हिलाम्य भएकाले सामान ढुवानीमा पनि समस्या भइरहेको निर्माण कम्पनीले जनाएको छ । ‘दुईपटक बाटो ग्राभेल गरिसक्यौँ, अहिले पनि हिलोले निर्माण सामग्री बोकेका गाडी निर्माणस्थलमा सहज रूपमा लग्न सकिएको छैन,’ उनले भने, ‘पानी पर्दा सामान लैजानै सकिन्न, काम पनि प्रभावित हुन्छ ।’

भारतबाट फर्कनेलाई राखेर जाँच गरिने
कोरोनाको पहिलो र दोस्रो लहर फैलँदा सबैभन्दा बढी प्रभावित सुदूरपश्चिम बन्यो । भारतबाट फर्केनेहरूलाई नाकामा परीक्षणविनै घर पठाइदा सुदूरपश्चिमका गाउँगाउँमा संक्रमण फैलिएको थियो । भारतबाट फर्कनेहरूबाटै संक्रमण फैलिने गरेकाले सरकारले नाकामा होल्डिङ सेन्टर बनाएर कोरोना जाँच गर्न र संक्रमित देखिएकालाई राख्न होल्डिङ सेन्टर बनाउन लागेको हो । 

सुदूरपश्चिमको अर्को प्रमुख नाका गड्डाचौकीमा पनि संघीय सरकारको बजेटमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । होल्डिङ सेन्टर निर्माणपछि प्रदेश सरकारले सञ्चाल र व्यवस्थापन गर्नेछ । नाका व्यवस्थापनका लागि अहिले नै तयारी थालिएको प्रदेश सरकारले जनाएको छ ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले विगतमा नाकाहरू अव्यवस्थित गरिँदा संक्रमण गाउँगाउँमा फैलिएकाले अहिले नाका व्यवस्थापनलाई सरकारले पहिलो प्राथमिकता दिएर काम गर्ने तयारी गरिरहेको बताए । ‘विगतमा भारतबाट आउने सबैको जाँच हुन नसक्दा संक्रमण बढ्यो । अब सकभर सबैलाई नाकानजिक होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य जाँच गरेर मात्र पठाउने गरी तयारी गर्दै छौँ,’ मन्त्री खड्काले भने, ‘नाकामा धान्नै नसक्ने भिड बढेमा भने स्थानीय तहसँगको समन्वयमा गाउँगाउँमा क्वारन्टिनमा राख्ने व्यवस्था गर्छौँ ।’ 

कैलालीको गेटा मेडिकल कलेजमा पनि दुई हजार शय्याको आइसोलेसन बनाउने सरकारको तयारी रहेको उनले बताए । अस्पतालहरूमा अक्सिजन प्लान्ट राख्ने, आइसोलेसन बेडहरू बढाउने, अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्ने, नाकाका होल्डिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीको टिम तयार पार्नेलगायतका तयारी सरकारले गरिरहेको मन्त्री खड्काले बताए । नाका व्यवस्थित गरेर कोरोना संक्रमण फैलन नदिने र संक्रमित बढेको अवस्थामा अस्पतालहरूमा उपचार पाउने गरी सरकारले व्यवस्थापनको काम गरिरहेको उनले बताए । 
 

सुझावित समाचार