रामचन्द्र पौडेल पक्षले भन्यो– नेतृत्वले इमानदार प्रयास गरे अझै पनि समयमै महाधिवेशन गर्न सकिन्छ (भिडियोसहित)

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगन्जस्थित कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार बसेको पौडेलपक्षीय नेताहरूको केन्द्रीय कार्यसमिति बैठकले पार्टी नेतृत्वले इमानदार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो । 

तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरू पुगेको वरिष्ठ नेता पौडेलले बताए । उनले त्यसका लागि पार्टी नेतृत्वले इमानदार प्रयास गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । उनले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ । त्यसका लागि हामी सबैले इमानदारपूर्वक प्रयास गर्नुपर्छ ।’


बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यतासम्बन्धी विवाद थाती राखेर १३औँ महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ । वरिष्ठ नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि दुई दिनसम्मको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताए । 

क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने पौैडेल पक्षको दाबी छ । 
 

सुझावित समाचार