डा. पुष्पराज कँडेलको टिप्पणी- साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्न ल्याइयो

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्ने गरी ल्याएको बताएका छन् । सत्तारुढ गठबन्धनले ल्याएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको सम्बन्धमा सोमबार एक कुराकानीमा उपाध्यक्ष डा. कँडेलले यो कार्यक्रम देशमा अराजकता सिर्जना गर्ने गरी आएको बताएका हुन् ।

तीन तहको सरकार सञ्चालनको सन्दर्भमा देखिएका कमी, कमजोरीलाई स्पष्ट रूपमा पहिचान गरी सम्बन्धित समस्याको समाधान खोज्नुपर्नेमा कार्यक्रमले संघीय सरकारका विरुद्धमा पूर्वाग्रह राखेको बताए । प्रदेश सरकार सञ्चालनका समस्या पहिचान नगरी संघीय सरकारको कारण नै प्रदेश सरकारले काम गर्न नसकेको देखाइएको उनले बताए । साझा न्यूनतम कार्यक्रमले विकास निर्माणका काममा राज्यको भूमिकालाई न्यूनीकरण गरेको पनि उनले उल्लेख गरे ।

‘एउटा हिसाबले हेर्दा त यसमा आत्मै छैन । यसको ओरेन्टेसन कता हो भन्ने नै देखिनँ मैले । यो हिजोको धङधङीबाट, हिजोको जातीय अराजकतावादका विषयहरू जुन उठाइएका थिए, त्यही ओरेन्टेसनतिर यसलाई क्रमशः धकेल्न खोजिएको छ,’ उनले भने, ‘तीनवटै तहलाई हेरेर साझा सूचीलाई प्रस्ट बनाउने कुरो ठीकै छ । तैपनि एकोहोरो, देशमा अराजकता सिर्जना गर्ने हिसाबले पो आयो कि । राज्यको भूमिकामा विकासलाई अगाडि बढाउने भन्ने कुरालाई राज्यको भूमिकालाई न्यूनीकृत गर्दै अब फेरि उही पुरानो रटानतिरै पो जान लाग्या हो कि जस्तो खालको देखिन्छ ।’

सुझावित समाचार