जयसिंह बेपत्ता भएको १० दिनपछि खोजीका लागि महाकालीमा ड्रोन उडाउँदै सरकार

१५ साउनमा बेपत्ता भएका जयसिंहको मृत्यु भएको आशंकामा परिवारले भोलिपल्टै कुसको शव बनाएर दाहसंस्कार गरिसकेको छ

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण
जयसिंह बेपत्ता भएको १० दिनपछि खोजीका लागि महाकालीमा ड्रोन उडाउँदै सरकार

बेपत्ता जयसिंह धामीको महाकाली नदी किनारमा खोजी गर्दै प्रहरी टोली

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामीको ड्रोन क्यामेराबाट महाकाली नदीमा खोजी गरिने भएको छ । सीमानदीमाथि ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरेको छ । गत १५ साउनमा जिल्ला सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि जयसिंह महाकालीमा बेपत्ता भएका थिए ।

घटनाको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा टोली बनाएको थियो । १९ साउनदेखि सरकारी टोली दार्चुलामै छ ।सरकारले जयसिंहको खोजी गर्न टोलीलाई निर्देशन दिएपछि ड्रोन क्यामेराको प्रयोग गरिन लागेको हो । काठमाडौंबाट ड्रोन क्यामेरासहितको टोली आइतबार साँझ दार्चुला आइपुगेको अनुसन्धान समितिका संयोजक गौतमले बताए । ‘बेपत्ता जयसिंहको अवस्थाबारे हामी अझै खोजी गर्छौँ,’ उनले भने, ‘डेथ बडी भए पनि महाकाली क्षेत्रमा ड्रोन क्यामेराको सहारामा हेर्ने भन्ने भएको छ ।’

गौतमका अनुसार तुइन लगाइएको व्याँस गाउँपालिका– २ मालघाटदेखि सदरमुकाम खलंगासम्मको नदी र किनार क्षेत्रमा ड्रोन क्यामेराबाट खोजी गरिनेछ । यहाँसम्मको दूरी करिब २५ किलोमिटर छ । महाकाली नदी नेपाल–भारत सीमानदी हो । सीमा क्षेत्रमा ड्रोन क्यामेरा उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । त्यसैले सीमावर्ती भारतीय डिएम कार्यालयलाई समन्वयका लागि पत्राचार गरिएको दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशीले बताइन् । ‘हामीले शनिबार भारतीय डिएम कार्यालयलाई बेपत्ता धामीको खोजी गर्न ड्रोन क्यामेरा प्रयोगको अनुमतिका लागि पत्राचार गरेका छौँ, पत्रको जवाफ आइसकेको छैन,’ उनले भनिन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले अहिले पनि बेपत्ता जयसिंहको नदी किनारमा खोजी गरिरहेको छ । 

अनुसन्धान टोलीले अहिले पनि बयान लिने, सोधपुछ गर्ने काम गरिरहेको छ । शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोलीले सँगसँगै प्रतिवेदनको काम पनि गरिरहेको संयोजक गौतमले बताए । ‘अनुसन्धान पनि जारी छ । अहिले सुरक्षा समितिका सदस्य, घटनास्थलनजिकका सुरक्षाकर्मीलगायतसँग सोधपुछ चलिरहेको छ,’ उनले भने ।

१७ साउनमा गठन भएको अनुसन्धान टोलीलाई १० दिनभित्र प्रतिवेदन तयार गर्ने समयावधि तोकिएको थियो । ‘तर, तोकिएको समयभित्र प्रतिवेदन तयार नहुन पनि सक्छ । ड्रोन क्यामेराले खोजी गरेपछि हामी फर्किन्छौँ । काठमाडौं पुगेपछि अन्तिम प्रतिवेदन तयार हुन्छ,’ संयोजक गौतमले भने । टोलीमा नेपाल प्रहरीका एआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक सिडिओ ज्योत्सना भट्ट सदस्य छन् ।

पीडित परिवारलाई २० हजार आर्थिक सहयोग हस्तान्तरण
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले बेपत्ता जयसिंह धामीको परिवारलाई २० हजार आर्थिक सहयोग गरेका छन् । नयाँ पत्रिकामा पीडित परिवारको अवस्थाबारे समाचार पढेपछि उनले सहयोग गरेका हुन् । डा. लोहनीले नयाँ पत्रिकाका दार्चुला सहकर्मी नरेन्द्रसिंह कार्कीमार्फत पीडित परिवारलाई सहयोग पठाएका हुन् । कार्कीले सहयोग रकम आइतबार बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीलाई हस्तान्तरण गरेका छन् । जयसिंहको परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् ।

सुझावित समाचार