नेप्सेमा झिनो अंकको हरियाली आउँदा लगानीकर्ताको ध्यान हाइड्रोपावरतर्फ

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण

नेप्सेमा झिनो अंकको हरियाली छाएर बन्द भएको छ। लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा रहँदा बजार कारोबार अवधिभर उतारचढाव कायम रहेको थियो। अन्तन्तः बजार अन्तिम समयमा  सुधारिँदै बन्द हुन पुगेको हो। लगानीकर्तामा अझै पनि  खुलेर बजारतर्फ आकर्षण बढ्न सकेको देखिँदैन। विश्लेषकहरू मौद्रिक नीतिपश्चात् बजारले अपेक्षाअनुसारको नतिजा निकाल्न सक्ने लगानीकर्ताको विश्वास हुनाले पनि बजारमा सुस्तता छाएको बताउँछन्।

साताको पहिलो कारोबारका दिन हाइड्रोपावर समूहको सूचक ३ दशमलव ३३ प्रतिशतले बढेको छ भने विकास बैंक, वाणिज्य बैंक र फाइनान्सतर्फ लगानीकर्ताले आकर्षण बढाएका छन्। त्यसैगरी माइक्रो फाइनान्स, जीवन बिमा र निर्जीवन बिमाका लगानीकर्ता भने निराश बनेका छन्। आइतबार नेप्से परिसूचक शून्य दशमलव ६६ अंकले बढेर तीन हजार एक सय आठ दशमलव १३ बिन्दुमा पुगेको छ। त्यस्तै ‘क’ वर्गको  कम्पनी मापक सेन्सेटिभ इन्डेक्समा शून्य अंकले हरियाली छाएर बन्द भएको छ।

६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार

आइबार ६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। सो दिन कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इस्योरेन्स, न्याग्दी ग्रुप पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ। कर्णाली डेभलपमेन्ट बैंक, च्याङ्दी पावर कम्पनी, बुटवल पावर कम्पनी, नेपाल फाइनान्स कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण रहेको छ। गुराँस लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर करिब ४ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता भने निराश बनेका छन्।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ। कम्पनीको सो दिन ८१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो पावर रहेको छ, कम्पनीको सो दिन ६० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा न्याग्दी ग्रुप पावर कम्पनी रहेको छ। कम्पनीको सो दिन ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी बुटबल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।

See More On

सुझावित समाचार