‘रिङरोड’ बनाउन आदिवासी सुकुमबासीको छाप्रो भत्काइँदै

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण
‘रिङरोड’ बनाउन आदिवासी सुकुमबासीको छाप्रो भत्काइँदै

शिवसताक्षी ५ र ६ को सीमामा रहेको आदिवासी सुकुमबासी बस्ती। तस्बिर : चिरञ्जीवी घिमिरे

शिवसताक्षी– ५ हात्तीसारका परदेशी राजवंशी (७१) होली पुरेर बसेको १५ वर्ष भयो ।  आदिवासी समुदायका परदेशी जन्मिँदैका सुकुमबासी हुन् । उनका बुबासँग आफ्नो भन्नु एक चपरी माटो थिएन । उनले पनि अहिलेसम्म जोड्न सकेनन् । विगतमा अर्काको जग्गामा काम गरेर खाने उनको परिवार १५ वर्षअघि त्यहाँ आइपुग्यो । तर, अहिले शिवसताक्षी नगरपालिकाले ‘रिङ रोड’मा घर परेको भन्दै भत्काउनका लागि १५ दिने सूचना जारी गरेको छ । उनलाई अहिले कहाँ जाने भन्ने चिन्ताले सताएको छ ।

‘हामीलाई कहिल्यै पीरले छाडेन । जन्मिँदा सुकुमबासी भएर जन्मियौँ । यता बस्दा पनि खेदाउँछन्, उता बस्दा पनि खेदाउँछन् । १५ वर्षदेखि यहाँ बसेका थियौँ,’ उनी भन्छन्, ‘कुन वेला आएर डोजर लगाउँछ भन्ने पीर छ ।’

परदेशीकी ६० वर्षीया छोरी शारीरिक रूपमा अशक्त छिन् । खाना खुवाउनेदेखि शौचालयसम्म आफैँ पुर्‍याउनुपर्छ । यस्तो कहाँ जाने भन्ने चिन्ता छ परदेशीलाई । उनको परिवार मात्र हाेइन । शिवसताक्षी ५ र ६ को सिमानामा रहेको यो बस्तीका २२ घरपरिवार अहिले कतिवेला डोजर आएर घर भत्काउनु हो भन्ने चिन्तामा छन् । १५ वर्षअघि माओवादीले सुकुमबासीका लागि भन्दै त्यहाँ बस्ती बसाएको परदेशी बताउँछन् । तर, अहिले त्यहाँबाट लखेट्न लागेको उनको भनाइ छ । दैनिक ज्यालामजदुरी गरेर खाने २२ घर परिवार त्यहाँबाट हट्न मानेको छैन । ‘उत्तर र दक्षिणमा बिघौँ बिघा जग्गा छ । त्यसलाई प्लटिङ गरेर बेच्न हामीलाई उठाएर खेदाउन खोज्दै छन्,’ विजय राजवंशी भन्छन्, ‘हामी गरिब आदिवासीको कोही रहेनछ ।’

वर्तादेवी राजवंशी एकल महिला हुन् । उनको घरमा कोही छैन । हात्तीसारमा बर्खामा राम्रो पानी पनि छेक्न नसक्ने छाप्रो छ । वरिपरि टाटिले बारेको छाप्रोमा बल्लतल्ल टाउको लुकेको छ, उनको । उनी अर्काको खेतीमा जनमन गरेर खन्छिन् । तर, नगरपालिकाले उठिवास लगाउने भएपछि बेचैन छिन्, उनी । नगरपालिकाले उत्तरमा राजमार्गनजिक जनता आवासको घर बनाएको छ । त्यहाँ जान यी आदिवासीलाई उर्दी जारी गरेको छ । तर, उनीहरू जान तयार छैनन् । किनकि उनीहरूलाई त्यहाँ रोजगारीको ग्यारेन्टी छैन ।

‘हामी अरू काम गर्न जान्दैनौँ । अर्काकोमा जनमन गरेर खाने हो । माथि खेती गर्दैनन् । हामीले काम पाइनौँ भने भोकै मर्ने ?,’ उनी भन्छिन्, ‘यहाँबाट हटाउने हो भने यहाँ नजिकै दिनुपर्छ । अब त धनीपूर्जा भएको जग्गा दिए पनि त हुने नि ! कति सुकुमबासी भएर बस्ने हामी ?’

यो ठाउँमा बस्दै आएका सुकुमबासीमाथि सुरुवातदेखि नै नगरपालिकाले विभेद गर्दै आएको आदिवासी फूलकुमारी मुखिया बताउँछिन् । ‘हाम्राे झुप्रो छ । बर्खामा पानी चुहिएर बस्न सकिँदैन । घर लड्न लागेका छन्,’ उनी भन्छिन्, ‘सबै गरिबलाई नगरपालिकाले घर बनाइदियो । टिन दियो, पानीका लागि कल दियो । तर, हामीलाई केही दिएन । हामीलाई हेप्यो मात्र ।’

शिवसताक्षी नगरपालिकाले नगरको गौरवको आयोजना ‘रिङरोड’ निर्माणका लागि बाधक भएकाले घर भत्काउन लागिएको बताएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले जनता आवासमा जान विकल्प दिइएको बताए । नजानेलाई आफ्नो विकल्प आफैँ गर्न उनको आग्रह छ । ‘बाटोको जग्गा हो । हामीले जनता आवासमा लाने भनेकै छौँ । नजानेलाई २० हजार क्षतिपूर्ति दिएर घर भत्काउँछौँ । जानेलाई जाने व्यवस्था गर्छौँ,’ उनले भने, ‘सात दिनभित्र घर नभत्काए हामी भत्काउँछौँ । त्यसको पनि लागत लाग्छ । त्यही २० हजारबाट कट्टा गर्छौँ ।’

सुझावित समाचार