सडक तथा पुलमा क्षति भएको संरचना पुनर्निर्माण गर्न डेढ गुणा थप लागत आवश्यक
यो वर्षको मनसुन सुरु (३१ जेठदेखि) भएपछि अहिलेसम्म देशका २९ राजमार्ग र २७ पुलमा क्षति पुगेको छ । सडक विभागका अनुसार ती राजमार्गमा २ अर्ब २० करोड रुपैयाँको क्षति पुगेको छ भने पुलमा ८० करोड रुपैयाँको क्षति पुगेको छ । ‘तर, यो प्रारम्भिक विवरण हो,’ सडक विभागका उपमहानिर्देशक शिव नेपालले भने । कतिपय ठाउँमा नियमित वर्षा भइरहेको र खोला तथा नदीमा पानीको सतह नघटेका कारण यथार्थ विवरण अझै नआइसकेको उनको भनाइ छ ।
कतिपय विकट ठाउँमा पुग्न सकिने अवस्थासमेत नरहेकाले अहिले प्रारम्भिक प्रक्षेपण मात्र गरिएको उपमहानिर्देशक नेपालले बताए । अघिल्लो वर्ष पनि ३ अर्ब रुपैयाँको क्षति भएको थियो । यो वर्ष अझै केही समय पानी पर्ने सम्भावना भएकाले क्षति अझ बढ्न सक्नेछ ।
मनसुनको बर्सातले संघीय सरकारअन्तर्गत रहेका ८० राजमार्गमध्ये २९ राजमार्गमा क्षति पुगेको छ । ती राजमार्गको १ सय ६० ठाउँमा यो वर्ष यातायात सञ्चालनमा अवरोध भएको छ । त्यसमध्ये अझै पनि १० ठाउँमा सडक खुल्न सकेको छैन । ९६ ठाउँमा राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्न सकिएको छ भने ५४ ठाउँमा सुचारु गर्न सकिएको उपमहानिर्देशक नेपालले जानकारी दिए ।
त्यस्तै, कुल २७ पुलमध्ये २ वटा भने चैतमा नै क्षति पुगेको उनले जानकारी दिए । क्षति पुगेका पुलमध्ये ८ वटा निर्माणाधीन रहेका छन् । यसकारण ती पुलको निर्माण, निर्माण व्यवसायीले गर्नेछन् । ‘यसले क्षतिलाई घटाउन सहयोग पुग्नेछ,’ उनले भने । अधिकांश पुलमा अत्यधिक वर्षाका कारण आएको बाढीले क्षति पुगेको छ । त्यस्तै, सडकमा भने बाढी र पहिरोले क्षति पुग्नुका साथै यातायात अवरोध भएको छ ।
सबैभन्दा बढी ठाउँमा अवरोध भएको डुम्रे, बेँसीसहर, चामे सडक ४५ दिनभित्र खुलाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
क्षति भएका राजमार्ग र पुल पुनर्स्थापना गर्ने योजना
सडक विभागले सामान्य खालका मर्मत गर्नुपर्ने कामलाई आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने जानकारी दिएको छ । विभागसँग भएको जनशक्ति र विनियोजित बजेटबाटै काम गर्ने तयारी छ । स्रोतले नभ्याउने र ठूलो क्षति भएको ठाउँमा भने अर्थ मन्त्रालयसँग बजेट माग्नुपर्ने हुन्छ ।
‘तर, अहिलेसम्म बजेट माग गरे पनि विनियोजित बजेटबाटै काम गरिरहेको विगतको अनुभव छ,’ उपमहानिर्देशक नेपालले भने । क्षति पुगेका आयोजनालाई प्राथमिकीकरण गरेर मर्मत र पुनर्निर्माणका काम थालिने तयारी छ । सडक तथा पुलमा क्षति भएको संरचना पुनर्निर्माण गर्न डेढ गुणा थप लागत आवश्यक पर्छ ।
सडक तथा पुलमा क्षति बढ्नुका ३ कारण
सडक विभागका अनुसार सडक तथा पुलमा क्षति बढ्नुको कारण जलाधार क्षेत्रमा भएको भौतिक परिवर्तन हो । भौतिक परिवर्तन भन्नाले जथाभावी सडक खन्ने, जग्गा प्लटिङ गर्ने, खेलमैदान बनाउने, जंगल मासेर कृषियोग्य भूमि बनाउने गर्दा पानीको वहाबमा परिवर्तन आउने गर्छ । यसका कारण अहिले देखिएका सडक र पुलको क्षतिको प्रमुख कारण देखिन्छ । यसले सडकभन्दा पनि पुलमा बढी क्षति देखाएको उपमहानिर्देशक नेपालले बताए । अर्को कारण भने यो वर्ष औसत वर्षाको तुलनामा करिब ३० प्रतिशत बढी पानी परेको छ । यसले पनि क्षति पुग्न सघायो । त्यस्तै, खोलामा भएको दोहन पनि क्षतिको कारण हो । खोलामा दोहन भएपछि उसको खोलाको चरित्रमा असर प¥यो र उसको वहाबमा परिवर्तन आयो । जसले गर्दा बनाएका संरचनामा असर पर्न गयो ।