सुजिता हत्या प्रकरणमा अधिकारकर्मीको प्रश्न– कुन आधारमा प्रहरीले सुजिताकाे चरित्रमाथि प्रश्न उठायो ?

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

गत असार २७ गते सेफ्टीट्ंयाकीमुनि गाडिएको अवस्थामा दोस्रोपटकको उत्खननमा शव फेला परेको सुजिता ठाकुरको हत्यामा उनको आफ्नै बुबाको समेत संलग्नता भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि पीडित पक्ष र अधिकारकर्मीले रोष प्रकट गरेका छन् ।

पीडित पक्षले अडियो–भिडियोसहित न्यायका लागि गुहार गर्दा यस्तो कुरा पनि कतै प्रमाण हुन्छ भन्ने प्रहरीले त्यही पीडकले उपलब्ध गराएको अडियोलाई कुन आधारमा प्रमाण मानेर मृतकको बुबालाई समातेको भनेर प्रहरीको अनुसन्धान र व्यवहारप्रति प्रश्न उठाएका छन् ।

प्रहरीले मृतककै बुबालाई समातेर बहादुरी देखाउन खोजेको, तर अझै वास्तविक अपराधी र घटनाको मास्टरमाइन्ड भनिएको मृतकका ससुरा पतिराम ठाकुर अझै फरार रहे पनि प्रहरीले जानीजानी पक्राउ नगरेको उनीहरूको आरोप छ । मोटो रकमको चलखेल भएकोले सुजिताको केस कमजोर पार्न प्रहरी लागेको भनी तत्काल मुद्दाको अनुसन्धान प्रदेश वा केन्द्रबाट टोली बोलाउनुपर्ने उनीहरूले बताए ।

यता मृतक सुजिताको चरित्रमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको पत्रकार सम्मेलनमा प्रश्न उठाइएकोमा महिला अधिकारकर्मीले सोको विरोध गरेका छन् । महिला अधिकारकर्मी गुञ्जा रायले पीडित पक्षको तर्फबाट भएको पत्रकार सम्मेलनमा बोल्दै पीडक पक्षको भनाइकै आधारमा मृतकको चरित्रमाथि  प्रश्न उठाउनु गलत भएको बताएकी छिन् ।

श्रीमान् सुस्त मनस्थितिकै भएको कारण सुजिताको देवरले लाखौँ–करोडौँको सम्पत्ति भोगचलन गर्ने, तर सुजिताको बालबच्चा र सुजिताले समेत परिवारबाट एकसुको सहयोग नपाउने अवस्थामा सुजिताले आफ्नो हक र अंशका लागि परिवारमा आवाज उठाउँदा उसको चरित्र खराब देखाएर सबै कुम्ल्याउन खोज्नेहरूकै बोली प्रहरीले सुनेर त्यसमै सत्यतथ्य अनुसन्धान नै नगरी चरित्र हत्या गरेको रायले गुनासो गरिन् ।

कुनै महिलालाई बदनाम गर्न र केस कमजोर पार्न हाकाहाकी उसको चरित्रको विश्लेषण गरिनाले प्रहरीले मुख्य अभियुक्त मृतकका देवर रुपेश ठाकुर उनको ससुरा पतिराम ठाकुरलगायतको चरित्रको समेत प्रमाण दिनुपर्ने अधिकारकर्मी रायले माग गरिन् । केही दिनअघि  जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एसपी दिनेश आचायले उनको चरित्र खराव भएको मनसायको  अभिव्यक्ति  दिएका थिए ।  
 

सुझावित समाचार